“अष्ट्रेलिया आएर धेरै आस नराखीदिनु, कर्म गरेपछि फल प्राप्त हुन्छ”

0
218

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएका अमृत लामासंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर काठमाडौँ, चाबेहिल हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ११ बर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले अष्ट्रेलियामा काम गर्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालबाट +२ लेभलको पढाई सकेर अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलियाको पढाई मात्र भनेर हुँदैन। आफ्नो पढाई र विषय अनुसारको काम पाउन सकियो भने करियर बनाउन सहज हुन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालमा मैले यति गाह्रो होला भन्ने १ प्रतिशत पनि सोचेको थिइन्। अष्ट्रेलिया जति हामीले फोटोमा देखिन्छ नि त्यति सजिलो छैन। धेरै दुख गर्न पर्छ मेहनत गर्न पर्छ। अष्ट्रेलियामा करियर बनाउनको लागि धेरै संघर्ष गर्नु पर्छ।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई काम पाउन धेरै गाह्रो भयो। मैले आएको २/३ महिना सम्म काम पाएको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
संघर्ष गर्न पर्ने रहिछ, कहिल्यै केहि कुरामा हार मान्न नहुने रहिछ, प्रतिक्षाको फल मिठो हुने रहेछ र आफुलाई सक्षेम बनाउनु छ भने परिवार बाट टाढा हुनै पर्ने रहेछ। आफ्नो परिवारको साथमा हुँदा दुख के हो थाहा थिएन यहाँ आएर पछि थाहा भयो। अष्ट्रेलियामा आए पछि थाहा भयो कि आफ्नो आँखाले प्रत्यक्ष नदेखे सम्म केहि कुराको पनि विश्वाश गर्न हुदैन भन्ने कुरा। नराम्रो भन्नलाई काम गरेको समयमा फोटो लिन नपाइने रहिछ। यदि काम गरेको फोटो राख्न पाउने भए अब आउने नेपालीहरुलाई सबै सूचना पुग्ने थियो र आफुलाई सक्षेम बनाएर आउने थिए अनि कसैले दुख पाउने थिएनन्।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
म आफु समावेश छैन त्यसैले थाहा भएन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
सुरुमा धेरै याद आउँछ। काम नपाउदा त आमाको गाली पनि धेरै याद आउँछ मिठो लाग्छ। नेपालमा बसेर गाली खाएकै ठिक छ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलियामा पढ्ने सोचले आउनु धेरै राम्रो छ। आफुले केहि लक्ष्य बोकेर आए धेरै राम्रो हुन्छ किनकी सोहि लक्ष्य अनुसार काम गर्दै पढ्दै गर्न सकिन्छ। धेरै आस नराखीदिनु आफ्नो कर्म गरेपछि फल प्राप्त हुन्छ भन्ने कुरालाई मनमा लिएर काम गर्नु भन्न चाहन्छु। अहिले नेपालमा पनि अभिभावक धेरै शिक्षित हुनुहुन्छ। उहाँहरुलाई राम्रो संग सम्झाउन सकियो भने बुझ्नु हुन्छ, आफ्नो पढाई देखि विभिन्न कार्यमा भएको खर्च बारे। म के भन्न चाहन्छु भने काम र पढाईको प्रेसर हुन्छ त्यसैले सबै बुझेर ५/६ बर्ष सम्म धेरै आस नगरी सपोट गरिदिनुहोला।