“अष्ट्रेलिया छ भन्दैमा सबै राम्रो ठाउँमा र सबैको भविष्य राम्रो हुन्छ भन्ने हुँदैन”

0
328

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएका अमोर सिंहसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर काठमाडौँ, बानेश्वर हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ५ बर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
अष्ट्रेलियामा म काम गर्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालबाट +२ लेभलको पढाई सकेर अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलियाको पढाईले जुन सुकै देशमा गए पनि करियर बनाउन सकिन्छ, यहाँको पढाईले पछुताउन पर्दैन र आत्तिन पनि हुँदैन सबै बिस्तारै गर्न सकिन्छ। नेपालमा जस्तो पढाई अनुसारको काम नहुने, काम मुस्किलले पाए पनि तलब राम्रो नपाउने भन्ने हुँदैन। अष्ट्रेलियामा पढेर नेपालमै गएर आफ्नै व्यवसाय गर्न पनि सकिन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
सोचेको भन्दा त धेरै फरक थियो। मैले नेपालमा हुदाँ यति गाह्रो होला भनेर सोचेकी थिइन। अष्ट्रेलिया जान्छु सजिलै धेरै पैसा कमाउछु अनि आफ्नो पढाईलाई पनि निरन्तरता दिन्छु भन्ने सोचेको थिए तर यहाँ आए पछि थाहा भयो कि पढाईलाई र आफ्नो पैसा कमाउने सपनालाई संगै लैजान नसकिने रहेछ।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई काम पाउन खासै गाह्रो भएन। सुरुमा कस्टुमर सर्भिसबाट काम गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
सबै भन्दा पहिला त आफैमा आत्मनिर्भर हुन् सिकायो। जस्तोसुकै परिस्तिथी आइपरे पछि नहटी काम गर्न पर्ने रहेछ। मलाई यहाँको नियम धेरै राम्रो लाग्छ सबैले मान्नु पनि हुन्छ त्यसैले विकशित भएको हो जस्तो लाग्छ मलाई अष्टेलिया। नराम्रो भन्नलाई केहि छैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
मलाई यहाँको नेपाली समुदाय मन पर्दैन त्यहि भएर सुझाव भन्नलाई केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
परिवारबाट टाढा भएपछि सम्झना त आउँछ। प्रत्येक चाडपर्वमा अनि बिरामी हुँदा धेरै याद आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
यहाँ आएर केहि गर्छु भन्ने सोचमा हुनुहुन्छ भने आउनुस्। नयाँ ठाउँ भनेर निरास हुने होइन बरु जस्तो समस्या आइपरे पनि म त्यसलाई समाधान गर्न सक्छु भनेर अगाडी बढ्नुपर्छ। जुन उद्देश्यले आउनु भएको हो त्यसलाई निरन्तर रुपमा काम गर्नुस्। यसो गर्दामा आफैँले आफैँलाई सुधार गर्ने मौका पाउनु हुन्छ। मेरो छोराछोरी अष्ट्रेलिया छ भनेर सबै आशाहरु उनीहरु प्रति नराख्दिनुहोला भन्न चाहन्छु। अष्ट्रेलिया छ भन्दैमा सबै राम्रो ठाउँमा र सबैको भविष्य राम्रो हुन्छ भन्ने हुँदैन, त्यसैले साथ र सपोट गरिदिनुहोला भन्न चाहन्छु।