मधेसी समुदाय र नेपाली व्यवसायीहरुले संयुक्त आयोजनामा निशुल्क होली मिलान कार्यक्रम सम्पन्न

0
350

भिक्टोरिया। अष्ट्रेलियाको भिक्टोरिया बसोवास गर्ने नेपालीहरुले शनिबार धुमधामका साथ होली मनाएका छन्। ‘होली खेलौ, खुलेर रमाऔं’ भन्ने नारालाई आत्मसाथ गर्दै मधेशी कम्युनिटी इन भिक्टोरियाले भब्य रुपमा कार्यक्रम सम्पन्न गरेको हो।

पारिवारिक माहोल रहने होली कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको थियो। कोरोनाका कारण बिगत दुई बर्षदेखी कुनै पनि कार्यक्रमको संचालन नभइरहेको अवस्थामा अहिले भव्यताका साथ सम्पन्न गर्न सफल रहेको आयोजक समुदायले जनाएको छ। कोबर्गको लेक रिजर्वमा भएको होली विशेष कार्यक्रममा लगभग ३५० जना महानुभावहरुको सहभागिता रहेको थियो। आयोजक समुदायले कार्यक्रमको शोभा बढाउनको लागि विभिन्न संघसंस्थाहरुलाई सहभागिताको लागि निमन्त्रणा दिएको थियो।

जसमध्ये भिक्टोरियाका लागि नेपालको महावाणिज्य दूतावास श्री चन्द्र योन्जोन, विल्सका लागि संघीय सदस्य श्री पिटर खलिल सांसद, न्याभका अध्यक्ष श्री राम गुरुङ, एनआरएनए विक संयोजक हरि खड्का, नेपाल अष्ट्रेलिया व्यापार संघ श्री पवन शाह, युवा संयोजक एनआरएनए श्री बबिन मिश्र लगायत व्यक्तिहरुले सहभागिता जनाएका थिए। यसरी विभिन्न संस्थाहरुबाट उल्लेखनीय सहभागिता रहेको हुँदा मधेशी समुदायका अध्यक्ष डा. सुरेन्द्र रौनियारले सबै विशिष्ट अतिथि र सहभागीहरूलाई धन्यवाद दिँदै सबैलाई होलीको शुभकामना व्यक्त गर्नु भएको थियो।

आफ्नो छोटो मन्तब्य राख्दै कार्यक्रम बारे डा. रौनियार भन्नुहुन्छ, “यस वर्ष होली पर्व एमसीभी र धेरै व्यवसायिक संस्थाको संयुक्त प्रयासमा पहिलो पटक आयोजना गरिएको हो। यसरी कार्यक्रम भव्य रूपमा सफल बन्न पुग्यो। सबैको संयुक्त प्रयासले कार्यक्रम सफल भएपछी आगामी वर्षहरूमा थप व्यवसायिक समुदायहरूलाई समावेश गर्ने पनि बताउनुभयो।”

यसका साथै दर्शकहरुलाई आकर्षण गर्नको लागि रंगीन, संगीत र नृत्य कलाकारिता प्रस्तुत गर्नुका साथै मैथली,भोजपुरी,नेपाली गीत र डिजेको पनि व्यवस्था रहेको थियो। अष्ट्रेलियामा नै रहेको संघर्षशील नेपाली युवा प्रतिभाहरुलाई प्राथमिकतामा राख्दै र नयाँ पुस्तालाई नेपाली कला र सस्कृतिको बारेमा बुझ्न अझै सहज होस् भन्दै सो कार्यक्रमको संचालन गरेको आयोजक समुदायले जनाएको छ।

१९ मार्च शनिबार सम्पन्न भएको कार्यक्रममा एमसीभी टोली, सोलभ एजुकेशन टोली र विशेष गरी: उनीहरूको ठूलो प्रयास र आतिथ्य सत्कारका लागि मुस्ताङ प्यालेसले ४०० जनालाई भन्दा बढी व्यक्तिहरूको लागि उच्च स्तरको खानपान उपलब्ध गराईदिएको हो। व्यवस्थापन मिलाउने गोबिन्द पाठक ,सुमन अधिकारी र सिड श्रेष्ठलाई आयोजकले आभार ब्यक्त गरेको छ।

त्यसैगरी होली कार्यक्रम सोचेको भन्दा धेरै राम्रो भएको र यसरी सफल रुपमा सम्पन्न गर्न सबै सहयोगी हातहरुको साथ रहेको बताउदै आयोजक समुदायले सम्पूर्णमा आभार व्यक्त गरेको छ।