“आफुले काम गरे अनुसारको तलब पाइन्छ, त्यसैले राम्रो लाग्छ : अष्ट्रेलिया”

0
97

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका उपासना कार्कीसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर पोखरा हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ४ वर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ? कुन युनिभर्सिटी /कलेजमा र कुन लेभलमा पढ्दै हुनुहुन्छ ?
अहिले म पढ्दै अनि काम गर्दै छु। हाल म चाल्स डार्विन युनिभर्सिटीमा मास्टर लेभल पढ्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
नेपालमा नर्सिङ्ग सकेर आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
त्यो कोर्ष र विषय हेरेर हुन्छ। अब यो नर्सिङ्गको क्षेत्रमा आयो भने सहजै संग आफ्नो करियर निर्माण गर्न सकिन्छ। र अर्को आफुमा पनि भर पर्ने गर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले त खासै यस्तो उस्तो होला भनेर सोचेको पनि थिएन तर फरक त पाएन। जे होस् मैले जति सोचेको थिए त्यो भन्दा धेरै राम्रो पाए।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई काम पाउन एकदमै गाह्रो भएको थियो। ७/८ महिना पछि मात्र मैले काम पाएको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको बसाइले काम गर्न र मेहनत गर्न सिकायो। यहाँ आफुले काम गरे अनुसारको तलब पाइन्छ। आफ्नो क्षमता अनुसार जति सक्छ, त्यति नै पैसा कमाउन सकिन्छ, त्यसैले यो कुरा चाहिँ मलाई राम्रो लाग्छ। यहाँ फुर्सद भनेपछि हुँदैन, त्यसकारण मलाई यहि कुरा मन पर्दैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
म खासै समुदायसंग नजिक छैन, त्यसैले ठिकै लाग्छ। केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आफ्नो परिवारबाट टाढा भएपछी सम्झना त अवश्य पनि आइहाल्छ। अझ चाडपर्वहरुमा धेरै मिस हुने गर्छ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
आफुलाई मानसिक रुपमा एकदमै बलियो बनाएर आउनुहोला। आफ्नो घरपरिवारबाट टाढा भएपछी काम गर्न केहि हदसम्म गाह्रो हुने गर्छ, त्यसैले त्यस्तो अवस्थालाई म समाल्न सक्छु भन्ने भावना मनमा जगाएर आउनुहोला। आफ्नो बालबच्चामाथि विश्वाश गर्न सिक्नुहोला। अष्ट्रेलिया त उ पैसा कमाउन जाने हो भनेर जतिबेला पनि त्यसकै बारेमा तनाब नदिनुहोला। बाबाममीदेखि टाढा भएपछी छुट्टै पिडा हुने गर्छ, त्यसकारण उनीहरुलाई सक्दो सहयोग र सल्लाह दिनुहोला भन्न चाहन्छु।