“विदेश हो, सोचेको जस्तो सजिलो हुँदैन त्यसैले ठुलो हिम्मत लिएर आउनु”

0
130

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका सन्तोष बस्नेतसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर काठमाडौँ, टोखा हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ३/४ वर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
अहिले म काम गर्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
नेपालमा +२ लेभलको पढाई सकेर अष्ट्रेलिया आइ.टि पढ्न आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
यहाँ आएर पनि राम्रोसंग पढ्नेको लागि सहजै हुन्छ भने नपढ्नेलाई हुँदैन। कसरी पढ्दा सहज हुन्छ भन्ने कुरा आफैँमा भर पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले खासै सजिलो हुन्छ भनेर आशा पनि गरेको थिएन, त्यसैले जस्तो सोचेको थिए त्यसति नै पाए।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई त्यो समयमा काम पाउन गाह्रो भएको थियो। मैले काम वाइर हाउसबाट सुरु गरेको हो।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको बसाइले आफैँमा आर्थिक रुपमा आत्मनिर्भर हुन् सिकायो। मेहनत कस्तोलाई भनिन्छ भन्ने कुरा पनि सिकायो। यहाँको राम्रो कुराहरु भनेको यहाँ आएपछि राम्रोसंग पढ्न र काम गर्न सकियो भने सजिलैसंग सेटल हुन् सक्ने वातावरण हो। नराम्रो त आफु गलत बाटोमा लागेपछि सबै नराम्रो नै हुन्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
म समुदायसंग खासै नजिक त छैन तैपनि ठिकै लाग्छ। सुझाब दिनुपर्ने त्यस्तो केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
घरपरिवारबाट टाढा भएपछी सम्झना त अवश्य आउँछ। आफ्नो परिवारको सम्झना नआए कसको आउने होर !

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
आफ्नो मनको साथै दिमाखलाई बलियो बनाएर आउनुहोला। अष्ट्रेलिया यसै सजिलो छ भन्ने नसोच्नु आखिर दु:ख जहाँ गएपनि गर्नै पर्ने हुन्छ, त्यसैले जे पनि गर्छु भन्ने सोच र हिम्मत राख्नु अत्यन्तै जरुरी हुन्छ। छोराछोरी अष्ट्रेलिया छ भन्दैमा लापरवाही नगर्नुहोला त्यो अवस्थामा झन् अभिभावकको गाइडको आवश्यकता परेको हुन्छ। जुनसुकै स्थितिमा पनि सहयोग दिइराख्नुहोला भन्न चाहन्छु।