“अष्ट्रेलियाको दु:ख र संघर्षलाई जटिल भन्दा पनि जीवनको पहिलो खुट्किलोको रुपमा लिनु”

0
133

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलवर्नमा बसोवास गरिरहनुभएका संयोग धमलासंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर चितवन हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ७ वर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
अहिले म काम गर्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
नेपालमा +२ लेभलको पढाई सकेर अष्ट्रेलिया आइ.टि पढ्न आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
राम्रोसंग पढ्नेको लागि राम्रो छ र सजिलै करियर पनि निर्माण गर्न सक्छन्। ध्यान नदिनेको लागि गाह्रो नै छ। कसरी करियर निर्माण गर्ने भन्ने बारे आफैँमा भर पर्ने कुरा हो।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले धेरै फरक पाएन। नेपालमा सोचेको भन्दा त केहि हदसम्म फरक त पाउँछ तर मैले चाहिँ सजिलो हुन्छ भनेर आशा राखेको थिएन।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई खासै गाह्रो भएको थिएन। मैले साथी मार्फत काम पाउन सफल भएको थिए। किचनबाट काम सुरु गरेको हो।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको बसाइले समयको महत्व कति हुन्छ भन्ने कुरा सिकायो। साथै काममा होस् या पढाईमा मेहनत गर्न र आफुमा जिम्मेवार हुन सिकायो। यहाँको राम्रो कुरा भनेको नेपालको तुलनामा पढाई अनुसार काम पाउने अवसरहरु धेरै पाइन्छ। नराम्रो भनेको परिवार र साथीभाइसंग टाढा हुने हुँदा धेरै मिस हुन्छ, त्यहि हो।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
खासै घुलमिल त छैन, तैपनि ठिकै लाग्छ। यहाँ आउने नयाँ विद्यार्थीहरुलाई सुरुमा गाह्रो हुने गर्छ, त्यसैले त्यो अवस्थामा चाहिँ सक्दो सहयोग गरिदिनुहोला भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
सात समुन्द्र पारि भएपछी घरपरिवार त अवश्य मिस भईहाल्छ। कति सम्झिन्छ भनेर त कसरी भन्ने।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया बाहिर देखे जस्तो सजिलो छ भनेर नसोच्नुहोला। सकेसम्म यहाँ आउनुभन्दा अगाडी आफुमा कुनै सिपको विकास गराएर अथवा केहि कुराको अनुभब बटुलेर आउँदा धेरै सजिलो हुने गर्छ। यसरी आयो भने यहाँ आएर छिट्टै काम पनि पाउन सकिन्छ। यहाँको दु:ख र संघर्षलाई जटिल रुपमा लिनुहुँदैन, हाम्रो जीवनको पहिलो खुट्किलो हो भन्ने सोचेर काम गर्यो भने सबै ठिक हुन्छ। छोराछोरीलाई अष्ट्रेलिया पठाईयो अब त केहि गर्नुपर्दैन भनेर वास्ता नगरिदिनुहोला झन् यहाँ आएपछि आफ्नो अभिभावकको खाचो पर्ने गर्छ। सुरुको अवस्थामा दु:ख हुने गर्छ, त्यसैले उनीहरुलाई त्यो समयमा सान्तोना दिनु जरुरी हुन्छ। उनीहरुप्रति धेरै आस पनि नराखिदिनुहोला भन्न चाहन्छु।