“जस्तोसुकै परिस्थितिमा पनि म गर्न सक्छु भन्ने भावना मनमा लिएर आउनु : अष्ट्रेलिया”

0
177

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलवर्नमा बसोवास गरिरहनुभएका सिमा तामांगसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर काठमाडौँ हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ३ वर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ? कुन युनिभर्सिटी /कलेजमा र कुन लेभलमा पढ्दै हुनुहुन्छ ?
अहिले म पढ्दै र काम गर्दै छु। म भिक्टोरिया युनिभर्सिटीमा पढ्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
नेपालमा +२ लेभलको पढाई सकेर अष्ट्रेलिया नर्सिङ्ग पढ्न आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
आफुले लापरबाही नगरी ध्यान दिएर पढ्ने हो भने करियर निर्माण गर्न सहज नै छ। यहाँको पढाईले करियर निर्माण मात्र गर्दैन व्यक्तिगत लेभलमा धेरै विकास पनि गराउछ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले त खासै फरक पाएको थिएन। नेपालबाट आउँदा नै दु:ख हुन्छ, त्यहाँ धेरै मेहनत गर्नुपर्छ भन्ने सोच बनाएर नै आएको थिए।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई खासै गाह्रो भएको थिएन। मैले काम हाउस किपिङ्गबाट सुरु गरेको हो।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको बसाइले मलाई आत्मनिर्भर हुन सिकायो। आफुमा धेरै विश्वस्त र परिपक्क हुन् सिकायो। यहाँको राम्रो कुरा भनेको सबै कुरा व्यवस्थित छ, सुरक्षित छ, आफ्नो मनमा लागेको राय सुझाब राख्न सकिने र उमेरको हिसाबले होस् या देशको हिसाबले कुनै भेदभाव नगर्ने सिस्टम राम्रो लाग्यो। यहाँको नराम्रो भनेको आफु एक्लै छ, घरपरिवार मिस हुन्छ त्यहि हो।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
मलाई राम्रो लाग्छ। जुन ठाउँको नेपाली भेटेपनि छिट्टो घुलमिल हुने गर्छन्। एकअर्कामा हेरचाह र दु:ख पिडा साट्ने गर्छन्। विद्यार्थीहरु धेरै जसो काम र पढाईमा व्यस्त हुने गर्छ, त्यसैले उनीहरुलाई मिलाएर विभिन्न किसिमको कार्यक्रमहरु आयोजना गरिदिनु भयो भने त्यसमा सहभागी हुने मौका पाउने थियो।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
धेरै मिस हुन्छ, कहिले काही घरपरिवार सम्झिदा नेपाल नै फर्किन मन पनि लाग्छ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
सुरुमा आफ्नो दिमागलाई धेरै तयारी गरेर आउनुहोला। जस्तोसुकै परिस्थितिमा पनि म यो गर्न सक्छु भन्ने भावना मनमा लिएर आउनुहोला। यहाँ सोचेको जस्तो छैन, हामीले सोचेको भन्दा केहि लेभलसम्म दु:ख गर्नु पर्ने हुन्छ। आफ्ना छोराछोरीप्रति धेरै आशा नराखीदिनुहोला। यहाँ पढ्न आएका हुन्छ, तिनीहरुलाई आर्थिक रुपले होस् या भावनात्मक रुपले होस् सपोर्ट दिइराख्नुहोला। उल्टै उनीहरुसंग यति उति भनेर पैसा माग्ने काम चाहिँ नगरिदिनुहोला बरु सकेसम्म आफैले पठाउने कोसिस गर्नुहोला भन्न चाहन्छु।