“स्वदेशमा बेरोजगार बस्नु भन्दा, जीवन निर्वाहको लागि विदेश सेटल हुनु राम्रो”

0
227

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले पोखरा, लामाचौर घर हुनुभएको एक बहादुर बानियासँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो बुहारीले पठाईदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यसरी उपहार आउँदा मलाई त एकदमै राम्रो लाग्यो अनि रमाइलो पनि लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएकी १२ वर्ष भइन्।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
हाल अष्ट्रेलियाको पर्थमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
छोराबुहारी दुवैजना पढ्न गएका हुन्, त्यसैले मलाई त राम्रो लाग्छ। उनीहरुको प्रगती नै हाम्रो खुसी हो।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्ना परिवारको सदस्य नहुँदा त नरमाइलो लाग्दो रहेछ। हरेक चाडपर्वहरुमा धेरै सम्झिन्छु।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
हामीलाई त आफ्नै देशमा आफ्नै आखा अगाडी भइदिए धेरै राम्रो लाग्छ तर यसो भन्दैमा हामीले जबर्जस्ती गरेर उनीहरुको भविष्य पनि बिगार्दिन भएन। नेपालको वातावरण पनि त्यस्तै छ। प्रगतिको बाटो लिन्छ होला भन्दा झन् देशको दुर्गति हुने क्रममा छ। नेपाल आएर पनि के गर्ने बरु त्यहाँ त आफ्नो जीवन निर्वाह भएपनि गरिरहेको छन्।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छु।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको मलाई सबै कुरा राम्रो लाग्यो, त्यहाँको नराम्रो भन्ने मलाई केहि लागेन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
म फेरी जाने सोचमा छु। आफ्ना छोराबुहारी त्यहि छ भेटघाट गर्दै घुम्न जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
विदेशमा सेटल हुनु त राम्रो होइन तर पनि आफ्नो करियरको लागि बस्नु चाहिँ ठिकै हो जस्तो लाग्छ। आफ्नो क्षमता अनुसारको काम आफ्नै देशमा पाउथ्यो भने कोहि पनि जाने थिएनन्। सकेसम्म आफ्नो हातमा बल हुन्जेल अरुको देशमा रमाउन हुन्न जस्तो मलाई लाग्छ। केहि समयको लागि जाने र पछि आफ्नै देशमा आएर देशको लागि केहि गर्नुपर्छ जस्तो मलाई लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो ख्याल राख्नु र आफ्नो देशलाई नबिर्सनुहोला।