“पैसा कमाउने भन्दा पहिला पढाई पुरा गर्छु भन्ने सोचले आउनु : अष्ट्रेलिया”

0
7221

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको पर्थमा बसोवास गरिरहनुभएका मिजुला बुद्धाचार्यसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर काभ्रे, पनौती हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको १२ वर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
अहिले म पढ्दै र काम गर्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
नेपालमा मैले +२ लेभलको पढाई सकेर आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
आफैँमा भर पर्ने हो। राम्रोसंग पढ्न सक्यो भने सहज नै बनाउछ नत्र भए गाह्रो नै हुने गर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले त खासै फरक पाएन जे सोचेर आएको थिए त्यहि पाए। यहाँ आएर राम्रो साथी भेटियो भने अझ सहज हुने गर्छ। यहाँ काम गरे अनुसारको पैसा पनि पाइन्छ।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई काम पाउन धेरै गाह्रो भएको थियो। मैले काम पिज्जा शपबाट सुरु गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको बसाइले मलाई मेहनत गर्न सिकायो। मेहनत गर्नु पर्छ, मेहनतबिना केहि पनि सजिलो हुँदैन भन्ने कुरा सिकियो। यहाँको राम्रो पक्ष भनेको यहाँको मान्छेहरु एकदमै अनुशासित र राम्रो व्यवहार गर्ने खालका हुन्छन्। वातावरण र हावापानी पनि राम्रो छ। यहाँ दु:ख धेरै गर्नुपर्छ, दु:ख नगरी केहि पनि पाइदैन। बस्नेदेखि लिएर खानेसम्मको  महँगो छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
मलाई राम्रो लाग्छ। हामी आउँदा चाहिँ त्यस्तो खासै केहि राम्रो थिएन तर अहिले चाहिँ राम्रो गर्दै आउनु भएको छ। समुदायले पी.आर वालालाई मात्रै होइन नयाँ आएका विद्यार्थीहरुलाई धेरै सहयोग गर्दै आएको छ। सबैलाई बराबर गर्ने प्रणाली राम्रो लाग्छ। सुझाब दिनुपर्ने त्यस्तो केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आफु समुन्द्र पारी भएपछी आफ्नो गाउँ,ठाउँ र घरपरिवारको सम्झना त धेरै आउने गर्छ। परिवारको सम्झना नम्बर एक मै हुन्छ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
विद्यार्थी अष्ट्रेलिया आएपछि धेरै पैसा कमाउने तिर मात्र जोड गर्ने गर्छन्, त्यसैले म के भन्न चाहन्छु भने पहिला पैसा तिर भन्दा पनि पढाई पुरा गर्नेतर्फ लाग्नु पर्छ। यहाँ आएर राम्रोसंग पढेर पी.आर लिइसकेपछि मात्र पैसा कमाउनतिर लागियो भने आफ्नो करियर सहजै निर्माण हुन्छ। अष्ट्रेलिया पैसा कमाउन भन्दा पनि पढ्छु भन्ने सोचले आउनुहोला भन्न चाहन्छु। आफ्ना सन्तान अष्ट्रेलियामा छन् भन्दैमा धेरै आशा नराख्दिनुहोला। आफ्नो देश छोडेर बाहिर गएपछि जसलाई पनि स्वतन्त्रता मिल्ने गर्छ र गलत बाटोमा पनि लाग्न सक्छन्, त्यसैले छोराछोरीप्रतिको हेरचाहमा कमि नगर्नुहोला भन्न चाहन्छु।