“अष्ट्रेलिया कमाउन भन्दा पनि पढ्न जाने हो भन्ने सोचले आउनु”

0
227
australia-education
australia-education

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका विवेक पौडेलसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर पोखरा, बिरौटा हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ८ बर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले काम गर्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालबाट +२ लेभलको पठाई सकेर आइ टि पढ्नको लागि अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलियाको पढाईले करियर बनाउन सहज छ। मेरो आफ्नो अनुभवमा भन्दै छु, अष्ट्रेलियामा मात्र पढाई राम्रो गराउन असम्भव छ। भन्छन् नि ‘हुने बिरुवाको चिल्लो पात’ त्यस्तै हामीले नेपालबाटै राम्रो नम्बर लिएर अष्ट्रेलिया आएको हुनुपर्छ। अष्ट्रेलियामा नेपालमा जस्तो ६ दिन स्कुल जाने १ दिन बिदा भन्ने हुँदैन। यहाँको पठाई अनुभव अनुसारको हुन्छ। पढ्ने घोक्ने होइन व्यवहारिक हुन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले नेपालमा हुँदा धेरै आस राखेर आएको थिए। अरुले सामाजिक सञ्जालमा राखेको फोटो देखेर घुम्ने रमाउने र पैसा कमाउने सोच मात्र थियो। तर, वास्तविक के हो भन्ने त यही आएर भोगेकालाई मात्र थाहा हुने रहेछ। मैले सोचेको भन्दा धेरै फरक पाएको थिए।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई सुरुमा काम पाउन धेरै गाह्रो भएको थियो। अष्ट्रेलिया आएको १/२ महिना पछि सुपर मार्केटमा काम पाएको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई अहिले सम्मको बसाईले समयको कसरि सदुप्रयोग गर्ने भन्ने बारे र परिवारको महत्त्व सिकायो। यहाँको सबै राम्रो लाग्छ मलाई त, हामी जस्ता पढ्न आउने बिद्यार्थीलाई सुरुमा बुझ्न गाह्रो हो तर सरकारले आफ्नो हिसाबले सहयोग गरिरहेको हुन्छ। यहाँ काम जस्तो सुकै होस् सबैलाई एकैनास गरेको हुन्छ। संघर्ष धेरै गर्न पर्छ तर संघर्ष गरे अनुसारको फल पनि पाइन्छ त्यो खुसी लाग्छ। नराम्रो भन्नलाई केहि छैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
सहयोगी हुनुहुन्छ सबैजना, आफ्नो तरिकाले आफ्नो ठाउँमा बसेर विभिन्न संघ सस्था बनाई सहयोग गरिराख्नु भएकै छ। उहाँहरुलाई सुझावको लागि केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आफ्नो परिवारको सम्झना त आउछ। विशेष गरि चाडपर्वमा र साथीभाइको बिहे वर्तबन्धमा धेरै याद आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउनु पढाईको शिलशिलामा धेरै राम्रो छ। अष्ट्रेलिया आउँदा दुख के हो संघर्ष कति गर्न पर्छ अनि सधैँ अरु निर्भर हुने हामी आफैँले सबै कुरा मिलाएर कसरि अगाडी बढ्न सकिन्छ भन्ने सिकिन्छ। हामी अष्ट्रेलिया कमाउन भन्दा पनि पढ्न जाने हो भन्ने सोचले आउँदा धेरै राम्रो हुन्छ। आफ्नो आर्थिक हिसाब पनि राम्रो संग बुझेर आउनु यहाँ आएर पढाई र काम मिलाएर संगै लैजान पर्छ त्यसैले धेरै ऋण खोजेर आउँदा हजुरलाई गाह्रो पनि पर्न सक्छ। आफ्नो छोरा छोरी अष्ट्रेलिया पठाउदा राम्रो संग बुझेर पठाउनुहोला। नेपालमा जस्तो सहज छैन अष्ट्रेलिया त्यसैले धेरै आस राखेर अनि ऋण खोजेर नपठाउनुहोला भन्न चाहन्छु।