“अष्ट्रेलिया आउने बित्तिकै पैसा कमाउन सकिदैन, धेरै आस नराखिदिनु: अभिभावकलाई सुझाव”

0
102

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका निमा पाण्डेसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर काठमाडौँ, काजीपोखरी हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ५/६ बर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले काम गर्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालबाट पी सी एल लेभलको पठाई सकेर नर्सिङ्गको लागि अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
त्यो त आफुमा भर पर्ने कुरा हो। आफुले कुन विषय पढ्न आउनु भएको छ त्यसमा पनि भर पर्छ। म आफु नर्सिङ्गमा पढ्न आएकी हु त्यसैले पनि अनुभव छ। अन्य विषय भन्दा नर्सिङ्गमा पढ्न धेरै राम्रो छ र केहि गर्ने अवसरहरु पनि धेरै छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले नेपालमा हुँदा धेरै आस राखेर आएकी थिइन, किनकि मैले सामाजिक सञ्जाल साथै आफु पढ्ने भाषा सिक्ने ठाउँबाट राम्रो संग धेरै बुझेर आएकी थिए। मैले धेरै फरक पाइन।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई काम पाउन धेरै गाह्रो त भएन। मेरो साथीहरु भएकाले उनीहरुले मलाई काम खोज्न सहयोग गरेका थिए। मैले रेस्टुडेन्टमा काम पाएर गरेकी थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई अष्ट्रेलियाको बसाईले आत्मनिभर हुन सिकायो। अष्ट्रेलियामा हामी जस्तो महिलाहरुको लागि भने काम गर्न धेरै सुरक्षित छ। नेपालमा जस्तो डराएर काम गर्नु पर्ने भन्ने हुँदैन। यहाँ काम अनुसारको तलब पनि पाइन्छ। सबै सुविधाहरु सरकारले दिएको छ। कुनै कारण बस पैसा कमाउन असमर्थ भइयो भने पनि सरकारले राहत दिन्छ। नराम्रो त अब आफ्नो परिवारबाट टाढा भएर बस्नु पर्ने नै लाग्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
म आफु समावेश छैन त्यसैले थाहा भएन र सुझावको लागि पनि केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आफ्नो परिवारको सम्झना त अष्ट्रेलियामा रहदा मात्र होइन घर छोडे पछि आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउदै हुनुहुन्छ भने पहिला त म पढ्न जाने हो भन्ने कुरा बुझ्नु राम्रो हो। यहाँ एक्लो मान्छेलाई धेरै गाह्रो हुन्छ सबै कुराको व्यवस्थापन गर्न। धेरै आस राखेर आउँदा पछुताउन पर्छ त्यसैले राम्रो संग बुझेर आफ्नो क्षमता अनुसारको गर्छु भन्ने सोचले आउनुहोला। अभिभावकले पनि आफ्नो छोरा छोरीहरुलाई साथ सपोट र हौसला दिनुहोला। अष्ट्रेलिया आउने बित्तिकै पैसा कमाउन सकिदैन त्यसैले धेरै पैसा पैसा नगरिदिनुहोला उनीहरुको दिमाखमा असर पर्न जान्छ।