“अष्ट्रेलिया आएर हर कदममा धेरै सोच विचार गरे मात्र, अगाडी बढ्न सकिन्छ”

0
152

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका निश्चल खतिवडासंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर पोखरा, भिमचोक हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ८ बर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले काम गर्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालबाट ब्यजलर लेभलको पठाई सकेर आइ टि पढ्नको लागि अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
आफ्नो करियर कसरी निर्माण गर्ने भन्ने कुरा त सबै आफैँमा भर पर्ने कुरा हो। पढाई जहाँको भएपनि आफु राम्रोसंग पढ्नु पर्यो, आफ्नो करियर त सहजै बनाउन गर्न सकिन्छ। भविष्य निर्माण गर्न अष्ट्रेलियाको पढाई धेरै राम्रो छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
अष्ट्रेलिया आउन अगाडी मैले धेरै आस राखेको थिए। मैले नेपालबाट अष्ट्रेलिया पुग्नपाए भन्ने मात्र हुन्थ्यो अनि पुगेपछिको सपना छुट्टै थियो। तर, मैले सोचेको जस्तो सहज थिएन यहाँ आएपछि थाहा भयो। नेपालको परिवेशमा हेर्न्ने हो भने त धेरै विकशित रहेछ। मैले मेरो सपना पुरा त गरे तर जति सरल सोचेर आएको थिए त्यति भने भएन।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई काम पाउन धेरै गाह्रो भएको थियो। म सुरुमा त यतिकै बसे काम नगरी, अष्ट्रेलिया आएको १/२ महिना पछि सुपर मार्केटमा पाएर गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको अहिले सम्मको बसाईले मलाई परिवारको महत्त्व र समयको कसरि सदुप्रयोग गर्ने भन्ने बारे सिकायो। अष्ट्रेलिया धेरै राम्रो छ सबै कुराहरुमा, यहाँको कानुन देखि लिएर हामी पढ्न आउने विद्यार्थीहरुलाई दिने सुविधा अनि पढाई अनुसारको काम सोचेको भन्दा पनि राम्रो छ। नराम्रो भन्नलाई आफ्नो परिवार देखि टाढा भएर बस्नु पर्ने बाध्यता छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
म आफु समावेश छैन त्यसैले थाहा भएन। सुझावको लागि पनि केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आफ्नो परिवारको सम्झना त आउँछ, चाहे त्यो खुसीमा होस् या दुखमा। मैले सुरुमा काम नपाउदा मेरी आमाको केहि राम्रा कुराहरु धेरै याद गरेको थिए। मैले नेपालमा हुँदा नगरेको नसोचेको दुख यहाँ आएर गर्दा बुवा आमाको दुख बुझेको सम्झिएको थिए।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
पढ्नको लागि अष्ट्रेलिया आउँदै हुनुहुन्छ भने अष्ट्रेलिया एकदम ठिक छ। हजुरहरु हर कदम पाइला पाइलामा धेरै सोच विचार गरेर अगाडी बढ्नु पर्ने हुन्छ यहाँ। नेपालमा जस्तो सहयोग गर्ने समय यहाँ कसैसित पनि हुँदैन आफ्नो मान्छे छन् भन्दैमा पुरै रुपमा उनीहरुको विश्वास र उनीहरुको भरमा नआउनु। अष्ट्रेलियामा धेरै संघर्ष गर्न पर्छ तर संघर्ष अनुसारको फल पनि पाइन्छ। जे गर्छु आफ्नै लागि गर्छु भन्ने सोचले अगाडी बढे कहिल्यै पछि परिदैन यहाँ भन्न चहान्छु। अभिभावकलाई त्यस्तो सुझाव नै त केहि छैन, किनकि सबैको आमा बावुले आफ्नो छोरा छोरीको लागि राम्रो सोचेर उनीहरुले आफ्नो भविष्य राम्रो गर्छन् भन्ने सोचेर पठाएका हुन्छन्।