“अष्ट्रेलियामा आफ्नो आर्थिक अवस्था हेरी, कलेज या युनिभर्सिटी रोज्दा राम्रो”

0
241

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलवर्नमा बसोवास गरिरहनुभएका विकाश श्रेष्ठसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर काठमाडौँ, बसन्तपुर हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ७ बर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले काम गर्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालबाट ब्यजलर लेभलको पठाई सकेर आइ टि पढ्नको लागि अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलियामा पढ्नको लागि भन्ने धेरै राम्रो छ। यहाँको पढाई जुनसुकै देशमा पनि गएर प्रयोग गर्न सकिन्छ र मान्यता पनि हुन्छ। अष्ट्रेलियामा आफ्नो करियर राम्रो बनाउन पहिला आफ्नो पढाई पुरा नै गर्नु पर्ने हुन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले नेपालमा हुँदा धेरै आस राखेको थिए। अष्ट्रेलिया जान्छु पढाई त एक बहाना मात्र हो टन्न पैसा कमाउछु अनि नेपालमा रहनु हुने मेरा बाबा आमालाई सुख दिन्छु भनेको थिए। चाहेको कुरा पाउन त सकिन्छ यहाँ तर धेरै संघर्ष गर्न पर्छ सोचेको जस्तो सहज छैन। धेरै फरक पाए मैले।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई काम पाउन धेरै गाह्रो भयो। आएको २/३ महिना सम्म मैले काम पाएको थिएन। पछि आफैँ खोजेर गरेको थिए सुपर मार्केटमा पाएर।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई आत्मनिभर हुन, समयको महत्त्व र परिवारको महत्त्व सिकायो। अष्ट्रेलिया सबै कुरामा व्यवस्थित छ, यहाँको नियम कानुन अनि सरकारले दिने सुख सुविधा सबै राम्रो छ। नराम्रो भनेको आफ्नो परिवारबाट टाढा भएर बस्नु पर्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
राम्रो लाग्छ, सहयोगी हुनुहुन्छ आफ्नो हिसाबले ठाउँ ठाउँमा पुगेर सहयोग गरिराख्नु भएको छ। सुझावको लागि राम्रो गरिराख्नु भएको छ अझै राम्रो गर्दै जानु भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
सुरुमा आउने बित्तिकै त धेरै सम्झना आउथ्यो। काम पनि नपाएको कारणले गर्दा घर फर्केर जान्छु भन्ने सोच पनि आएको थियो। अहिले काम पढाई गर्दा व्यस्त भएर याद त आउँछ तर पहिला जस्तो न्यास्रो भने लाग्दैन। दिनदिनै कुरा भईरहन्छ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
तपाईहरु अष्ट्रेलिया राम्रो संग बुझेर आउनु, अष्ट्रेलिया नेपालमा बसेर सोचेको जस्तो सहज छैन। यहाँ धेरै संघर्ष गर्नपर्छ नेपालमा जस्तो सहयोग अरुले गरेर आफुलाई पनि पुग्ने भन्ने हुँदैन। आफैँमा निर्भर हुनुपर्छ, अष्ट्रेलियामा काम गर्दै पढ्न पर्छ त्यसैले आफ्नो आर्थिक अवस्था हेरेर कलेज युनिभर्सिटी राज्नु राम्रो हुन्छ। आफ्नो छोरा छोरीको भविष्यको कुरा छ त्यसैले अभिभावकले पनि राम्रो संग बुझेर पठाउनुपर्छ। हरेक कुरामा साथ र सपोट गरिदिनुपर्छ भन्न चाहन्छु।