अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।
यस स्तम्भ अन्तर्गत आज हामीले बिर्तामोड घर हुनुभएको रामलाल उप्रेतीसँग कुराकानी गरेका छौं।
अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो छोरीले पठाइदिएको हो।
यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
छोराछोरीले माया गरेर पठाईदिदा खुसी त अवश्य लागिहाल्छ।
उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएकी ५ वर्ष भईन्।
उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको सिड्नीमा बस्छिन्।
उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
वास्तविक नै भन्नु पर्दा त मुलुक छोडेर बाहिर जाँदा बेखुसी नै लाग्छ तर बाध्यता भएर जानु परेको छ, मलाई ठिकै लाग्छ।
चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्ना छोराछोरीको सम्झना नआए कसको आउने होर ! हरेक चाडपर्वहरुमा धेरै सम्झिरहेको हुन्छु।
नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त नेपाल नै फर्किएको राम्रो लाग्छ। विदेशमा २/४ वर्ष कमाउने हो अनि पछि आफ्नै जन्मभूमिमा आउनुपर्छ। आफ्नो आमाको गाली अनि सौतेनी आमाको मायामा धेरै फरक पर्छ, आफ्नो भन्या आफ्नै हुन्छ। त्यसैले जे जस्तो हुन्छ आफ्नै देश फर्की विकास गर्नुपर्छ।
तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छैन।
अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अष्ट्रेलिया गएको त छैन तर बाहिरबाट देखेको भरमा त्यहाँको सिस्टम राम्रो लाग्छ। सबै देश नै सिस्टममा चलेको छ , त्यसैले विकास हुँदै गएको छ। त्यहाँको नराम्रो भन्ने मलाई केहि लाग्दैन।
अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
पछि छोराछोरीले लगे भने घुम्नको लागि जाने सोचमा छु।
नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
विदेशमा सेटल हुने बानी मलाई कत्ति पनि मन पर्दैन। आफ्नो धर्ति, आफ्नो जन्म दिने आमाको काख छोडेर अर्काको देशमा गएर बस्ने त स्वार्थीपन हो। आफ्नो आमालाई नै छोड्नु भनेको पैसामा बिक्नु जस्तै हो। यसरी आफ्नो गाउँ ठाउँलाई चटक्कै माया मारेर अर्काको देशमा बस्दा मलाई धेरै नराम्रो लाग्छ।
अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
विदेशमा २/४ पैसा कमाउने र त्यहाँ सिकेको कामलाई आफ्नै देशमा आएर लागु गर्नुहोला।