“अष्ट्रेलिया मोजमस्ती भन्दा पनि, आफ्नो करियरको लागि सोचेर आउनु”

0
344

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गरिरहनुभएका सलिना महर्जनसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर काठमाडौँ, मैतीदेबी हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म २०१५ मा अष्ट्रेलिया आएको हो।

अहिले के गर्दै हुनुहुन्छ ?
अहिले म अष्ट्रेलियामा काम गर्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालबाट +२ लेभलको पढाई सकेर नर्सिङ्ग पढ्नको लागि अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
त्यो त आफुमा भर पर्ने कुरा पनि हो। डिग्री पढ्नको लागि धेरै राम्रो छ, पढाई अनुसारको काम सुविधा पनि धेरै छ। मुख्य कुरा भनेको त पढाईलाई नै जोड दिनुपर्छ। अष्ट्रेलियाको पढाई यही सेटल हुनेहरुको लागि मात्र नभई अन्य देशमा गएर पनि आफ्नो करियर बनाउन सकिन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले नेपालमा हुँदा अष्ट्रेलियाको बारेमा राम्रो राम्रो संग बुझेकी थिए। आफुले पढ्ने ठाउँ देखि लिएर आफ्नो अष्ट्रेलिया जानुभएका आफन्तीहरु संग समेत बुझेकी थिए त्यसैले पनि धेरै फरक पाइन।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई काम पाउन खासै गाह्रो भएन किनकि मेरा आफन्तीहरुले मलाई धेरै सहयोग गर्नु भएको थियो।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई अष्ट्रेलियाको बसाईले आत्मनिर्भर हुन र समयको महत्त्व सिकायो। अष्ट्रेलियाको सबैभन्दा राम्रो पक्ष भनेको यहाँको पढाई र सरकारले दिने सुविधा हो। नराम्रो भनेको परिवारबाट टाढा भएर बस्न पर्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
म आफु समावेश छैन। तर, मैले धेरै सहयोगी हातहरु अगाडी बढाउनु भएको देखेको छु राम्रो लाग्छ। सुझाव नै दिन पर्ने त केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आफ्नो परिवारको सम्झना त हर कोसैलाई आउँछ। अष्ट्रेलिया रहदा होस् या घर बाहिर जुनसुकै ठाउँमा होस्। मलाई विशेष गरि चाडपर्वमा अनि घरमा कुनै पुजा हुँदा धेरै याद आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउँदा अरुको फोटो देखेर राम्रो घुम्ने ठाउँ देखेर नआउनुहोला। आफुले पढ्ने कलेज युनिभर्सिटी राम्रो संग बुझेर आउनुहोला। यहाँ नेपालमा जस्तो सहज छैन धेरै संघर्ष गर्नपर्छ पढ्ने कलेजहरु कुनै कुनै धेरै महँगो हुन्छ। अष्ट्रेलियामा एक्लो मान्छेलाई सबै कुराको व्यवस्थापन गर्न धेरै गाह्रो हुन्छ। अष्ट्रेलिया आउँदा मोजमस्ती भन्दा पनि आफ्नो करियरको लागि सोचेर आउनु भन्न चाहन्छु। अभिभावकहरुले ऋण खोजेर पठाउनुहुन्छ, अष्ट्रेलिया आउने बित्तिकै पैसा कमाईहाल्छन् भन्ने हुँदैन यहाँ सबै चिजमा महँगो छ। सबै बुझेर साथ हौसला दिनुभन्न चाहन्छु।