“अष्ट्रेलिया +२ पढेर आउनु, ब्यजलरको तिन बर्षमा धेरै सिक्ने अवसर मिल्छ”

0
416

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको एडिलेटमा बसोवास गरिरहनुभएका बिनोद बुरागाईसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर काठमाडौँ, गौशाला हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म २०१० मा अष्ट्रेलिया आएको हो।

अहिले के गर्दै हुनुहुन्छ ?
हाल अष्ट्रेलियामा काम गर्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालबाट +२ लेभलको पढाई सकेर आइ टी पढ्नको लागि अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
मलाई के लाग्छ भने पढ्न सक्ने मान्छेहरुलाई अष्ट्रेलियामा मात्र नभई अन्य देशमा पनि आफ्नो करियर राम्रो बनाउन सक्छन्। यहाँको केशमा हेर्ने हो भने धेरै जस्तो मान्छेहरु आफ्नो पढाईको लागि भनेरै अष्ट्रेलिया आउने गर्छन्। तर, यहाँ आइसकेपछि थाहा हुन्छ कि पढेर मात्र आफ्नो जिबन निर्वाह गर्न सकिदैन। अनि काम र पढाई गर्दा पढाईमा असर पर्न जान्छ। अष्ट्रेलियामा पढाई राम्रो गर्न सकियो भने चाहेको जस्तो काम पाउन सकिन्छ जसले गर्दा आफ्नो भविष्यको लागि राम्रो हुन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले नेपालमा हुँदा धेरै आस राखेको थिए। अष्ट्रेलिया ऋण खोजेर आइन्छ, त्यसैले गएको केहि समय यता उति केहि नगरी पैसा मात्र कमाउछु र एक वर्षमै ऋण तिर्छु भनेको थिए। तर, यहाँ आएपछि थाहा भयो कि अष्ट्रेलिया नेपाल बसेर सोचेको जस्तो छैन। यहाँ आएर धेरै संघर्ष गर्न पर्छ जस्तो सुकै काम पनि गर्न पर्ने रहेछ। मैले सोचेको भन्दा त अष्ट्रेलिया धेरै फरक छ।

काम पाउन कत्तिको गाह्रो भयो ?
मलाई काम पाउन धेरै गाह्रो भएको थियो। म नेपालबाट आएको ३/४ महिना पछि काममा लागेको थिए। त्यो बिचमा त मलाई नेपाल फर्किन मन लागेको थियो, अब यतिकै यहाँ बस्न भन्दा नेपालमै जान्छु आफ्नो परिवारसंग बसेर केहि गर्छु भन्ने सोचेको थिए। अहिले काम पाएपछि भने सबै ठिक छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई अहिले सम्मको बसाईले समयको महत्त्व र आफ्नो लागि धेरै संघर्ष गर्न पर्छ भन्ने कुरा सिकायो। अष्ट्रेलियामा शुन्यबाट आएका मान्छेहरु पनि ९९ सम्म आफुलाई सक्षेम बनाएका हुन्छन्। यहाँको नियम कानुन अनि सरकाले दिने सुविधा सबै धेरै राम्रो छ। नेपालमा जस्तो अपाङ्गहरुलाई बुढा बुढीहरुलाई हेला गर्ने भन्ने हुँदैन। यहाँ त उनीहरुलाई हेरचाह गर्न पनि तालिम लिनुपर्छ अनि पढेको हुनुपर्छ। नराम्रो भन्नलाई केहि छैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
ठिकै लाग्छ सहयोगी हुनुहुन्छ, म समावेश त छैन त्यसैले सुझावको लागि पनि केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
मलाई मेरो परिवारको सम्झना विशेष गरि चाडपर्वमा धेरै आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउँदा धेरै आस राखेर नआउनु मैले आफ्नो अनुभव भन्दै छु। +२ पढेर आउनु भयो भने ब्यजलरको ३ बर्षमा धेरै जान्ने सिक्ने मौका मिल्छ। अष्ट्रेलियामा संघर्ष धेरै गर्न पर्छ नेपालबाट आउने सोचमा हुनुहुन्छ भने सानो तिनो दुख नेपालमै पनि गर्दै गर्नु ता कि एकै चोटी अष्ट्रेलिया आएर दुख गर्दा गाह्रो नहोस्। राम्रो संग बुझेर आफ्नो बारेमा धेरै सोचेर आउनुहोला भन्न चाहन्छु। अभिभावकहरुले पनि आफ्नो छोरा छोरीलाई राम्रो संग बुझेर पठाउनुहोला। साथ र सहयोग गरिदिनुहोला भन्न चाहन्छु।