“अष्ट्रेलिया राम्रो शिक्षा र ज्ञान हासिल गर्छु भन्ने सोचले आउनु”

0
166

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका सुवास पौडेलसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर काभ्रे, पनैती हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ७ बर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
अष्ट्रेलियामा म अहिले काम गर्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालबाट +२ लेभलको पढाई सकेर आइ टि पढ्न अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलियाको पढाई नेपालको तुलनामा धेरै राम्रो छ। आफुले राम्रोसंग पढ्न सक्यो भने यहाँ आएर भविष्य निर्माण नभएको कसको छ र ! आफ्नो आर्थिक हिसाबले सकेसम्म युनिभर्सिटी रोज्नु राम्रो लाग्छ। युनिभर्सिटीमा पढाईको साथसाथै पछि लागि पनि धेरै सहयोग मिल्ने गर्छ। त्यसैले पनि अष्ट्रेलियाको पढाइले करियर निर्माणमा सहजै छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
अष्ट्रेलिया सोचेको जस्तो सजिलो पनि छैन,यहाँ आएर धेरै संघर्ष गर्न पर्छ। यहाँ आएपछि पढाईलाई मात्रै समय दिइयो भने पनि पैसा कमाउन सकिदैन, त्यसैले पढाई काम पैसा सबै कुराको सन्तुलन राखेर अगाडी बढ्न सक्नु पर्छ। विकशित देशमा आउँदा धेरै फरक त हुन्छ नै नेपालको परिवेशमा यहाँको हावा पानी सबै फरक छ।

काम पाउन कत्तिको गाह्रो भयो ?
मलाई काम पाउन गाह्रो भएन। म अष्ट्रेलिया आएकै केहि समयमा काम पाएको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई अष्ट्रेलियाको बसाईले आत्मनिर्भर हुन, पैसाको महत्त्व र समयको महत्त्व सिकायो। यहाँको वातावरण सफा भएको कारण यहाँका मान्छेहरुको मन पनि सफा र राम्रो सोच आउने रहेछ। अष्ट्रेलियाले आफ्नो लागि आफैँ गर्न पर्छ भन्ने शिक्षा पनि दिन्छ। यहाँ अवस्थित नेपाली पनि धेरै राम्रो सोच र बिचमा घुलमिल हुन्छन् र राम्रो सोचको विकाश गर्छन् यो सबै भन्दा राम्रो पक्ष पनि हो। नराम्रो भन्नलाई केहि लागेन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
म समावेश छैन त्यसैले थाहा भएन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आफ्नो परिवारको सम्झना त जतिबेला पनि आउँछ। विशेष गरि चाडपर्वमा अनि यहाँ बिरामी हुँदा धेरै याद आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
कुन कलेज युनिभर्सिटी पढ्ने अनि फि कति लाग्छ बुझेर आउनु भयो भने धेरै सहज हुन्छ। सबै कुरामा अरुको भर पनि नपर्नु आफ्नो मान्छे कोहि छन् भने पनि अष्ट्रेलियाको नियम कानुन राम्रो संग बुझ्न सक्नु हुन्छ। अष्ट्रेलिया आउँदा धेरै सिक्छु भन्ने सोच लिएर आउनु किनकि सुरुमा धेरै संघर्ष गर्न पर्छ। अभिभावकहरुले पनि अष्ट्रेलिया आउने बित्तिकै पैसा कमाउछ भन्ने नसोच्नु यहाँ धेरै दुख गर्न पर्छ। पैसा कमाइन्छ नकमाउने होइन तर यहाँ कलेज रूम सरकारलाई कर तिर्दा ठिक्क हुन्छ। त्यसैले उनीहरुलाई बुझेर साथ र हौसला दिनुहोला भन्न चाहन्छु।