“अष्ट्रेलिया सानो उमेरमै नपठाउनुहोला, व्यवहारिक रुपले परिपक्क हुँदैनन्”

0
112

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको गोलकोर्षमा बसोवास गरिरहनुभएका प्रकृति पौडेलसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर बनेपा हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ५ बर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
अष्ट्रेलियामा म अहिले काम गर्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालबाट +२ लेभलको पढाई सकेर डिप्लोमा पढ्न अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलियाको पढाईले जुन सुकै देशमा गए पनि करियर बनाउन सकिन्छ, यहाँको पढाईले पछुताउन पर्दैन। भनिन्छ नि “दुख पछि सुख आउछ” त्यस्तै आत्तिन हुँदैन। नेपालमा जस्तो पढाई अनुसारको काम नहुने, काम मुस्किलले पाए पनि तलब राम्रो नपाउने भन्ने हुँदैन। अष्ट्रेलियामा पढेर नेपालमै गएर आफ्नै व्यवसाय गर्न पनि सकिन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
अष्ट्रेलियाको प्रविधि नियम र यहाँको मान्छेको सोच सबै एकदमै फरक छ। नेपालबाट आउँदा धेरै आस राखेर आउनेहरुको लागि भने धेरै गाह्रो हुन्छ। यहाँ सोचेको जस्तो सुरुमै पाईदैन।

काम पाउन कत्तिको गाह्रो भयो ?
मेरो श्रीमान् यही हुनुभएको भएर मलाई काम पाउन गाह्रो भएन।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई अष्ट्रेलियाको बसाईले आत्मनिर्भर हुन र समयको महत्त्व सिकायो। राम्रो नराम्रो भन्ने त आफुमा भर पर्ने कुरा हो। राम्रो पक्षलाई पनि नराम्रो बाटोबाट लिएर हिड्ने हो भने नराम्रो हुन जान्छ त्यसैले।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
म आफु समावेश त छैन। तर, मैले देखे अनुसार सबै राम्रो छ सहयोग गरिराख्नु हुन्छ। सुझावको लागि केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
नेपालमा कुनै कार्यक्रम हुँदा अनि चाडपर्वमा धेरै सम्झना आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलियामा सहयोगी हातहरु कमै हुन्छन् त्यसैले अरुको आस गरेर नआउनुहोला। जस्तोसुकै परस्थितिमा पनि पछि नपरी आफैँ गर्छु भन्ने भएर आउनुहोला। राम्रो संग बुझेर आउनुहोला भन्न चाहन्छु। आफ्नो छोरा छोरी अष्ट्रेलिया पठाउदै हुनुहुन्छ भने सानो उमेरमै नपठाउनुहोला। व्यवहारिक हिसाबले परिपक्क भएका हुँदैनन् त्यसैले सहि गलत पनि छुट्टाउन सक्दैनन्। अष्ट्रेलियाले बुझ्ने समझदार मान्छेलाई धेरै कुरा सिकाउछ तर नबुझ्नेहरुको लागि भने नराम्रो असर परिरहेको हुन्छ।