“आफ्नो संघर्षशिल जीवन कसरी अगाडी लैजाने भन्ने बारे राम्रो संग बुझेर आउनु :अष्ट्रेलिया”

0
186

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको एडीलेटमा बसोवास गरिरहनुभएका सरिता भट्टराईसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर काठमाडौँ, सितापाइला हो ।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ६ बर्ष भयो ।

अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले अष्ट्रेलियामा पढाई सकेर काम गर्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालबाट +२ पढेर नर्सिङ्गको लागि अष्ट्रेलिया आएकी हु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलिया धेरै जसो मान्छे आफ्नो पढाईलाई निरन्तरता दिएर आफ्नो करियरको लागि केहि गर्ने सोचले आएका हुन्छन्। यहाँको पढाईले यही मात्र नभई अन्य देशमा गएर पनि आफ्नो पढाईको अनुभवले व्यवसाय गर्न सकिन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले नेपालमा हुँदा अष्ट्रेलियाको बारेमा राम्रो राम्रो संग बुझेकी थिए। आफुले पढ्ने ठाउँ देखि लिएर आफ्नो अष्ट्रेलिया जानुभएका आफन्तीहरु संग समेत बुझेकी थिए त्यसैले पनि धेरै फरक पाइन।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मेरो आफ्नो मान्छेहरु अष्ट्रेलियामा बर्षै देखि रहदै आउनु भएको छ। उहाँहरुले नै सहयोग गरेर मैले सुपर मार्केटमा आएको केहि समयमै काम पाएकी थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई अष्ट्रेलियाको बसाईले आत्मनिर्भर हुन र समयको महत्त्व सिकायो। अष्ट्रेलियाको सबैभन्दा राम्रो पक्ष भनेको यहाँको पढाई र सरकारले दिने सुविधा हो। नराम्रो भनेको परिवारबाट टाढा भएर बस्न पर्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
म आफु समावेश छैन त्यसैले खासै थाहा भएन। सुझाबको लागि पनि केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आफ्नो परिवारको सम्झना जतिबेला पनि आउँछ। जतिसुकै पैसा कमाए पनि अन्तिममा चाहिने भनेको आफ्नै परिवार हो त्यसैले पनि समय मिलाएर काम पढाई संगै परिवारसंग पनि कुरा भइरहेको हुन्छ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउँदा धेरै पैसा कमाउने सोचले भन्दा पनि आफ्नो परिवारले गरेको दुख सम्झेर आउनुहोला। अष्ट्रेलियामा धेरै संघर्ष गर्न पर्छ अनि कलेज फि सबै कुरा महँगो पनि छ। सबै कुरा नेपालबाट बुझेर आउनु भयो भने धेरै सहज हुन्छ। आफ्नो मान्छे कोहि छन् भने आउदै छु भनेर सहयोग माग्नु। सस्तो कलेज पढेर आफ्नो संघर्षशिल जीवन कसरि अगाडी लैजाने भन्ने बारे आफुले राम्रो संग बुझेर आउनु पर्छ। पहिल्यै देखि यही बसिरहेकालाई यहाँको नियम कानुन बारे राम्रो संग ज्ञान हुन्छ त्यसैले सबै बुझेर आउदा सहज हुन्छ भन्न चाहन्छु। आफ्नो छोरा छोरी अष्ट्रेलिया पठाउदै हुनुहुन्छ भने पहिला उनीहरुको क्षमता कत्तिको छ बुझ्न जरुरि हुन्छ। अरुको छोरा छोरी गएर पैसा कमाएको देखेर नपठाउनु, अष्ट्रेलिया नेपालमा बसेर सोचेको जस्तो सहज छैन भन्न चाहन्छु।