“आफुले सोचेको भन्दा धेरै फरक पाइन्छ, त्यसैले आउन हतार नगर्नुहोला: अष्ट्रेलिया”

0
120

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको ओवेन्समा बसोवास गरिरहनुभएका रेश्मा आचार्यसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो नेपालको घर बुटवल हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ४ वर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ? कुन युनिभर्सिटी /कलेजमा र कुन लेभलमा पढ्दै हुनुहुन्छ ?
अहिले म पढाई अनि काम पनि गर्दै छु। अष्ट्रेलियाको न्यु इरा इन्सिच्युटमा पढछु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ? कुन विषय पढ्नको लागि जानुभएको हो ?
मैले नेपालमा नर्सिङ्ग पुरा गरेर आएको हो। चाइल्ड केयरसम्बन्धी पढ्न आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
को कसरी पढ्छ भन्ने र कसरी आफ्नो करियरलाई अगाडी लैजान्छ भन्ने कुरा त सबै आफैँमा भर पर्ने कुरा हो। राम्रोसंग पढ्न पर्छ यहाँको पढाईले सजिलै आफ्नो करियर निर्माण गर्न सकिन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले धेरै फरक पाए। यहाँ आएर सोचेको भन्दा धेरै दु:ख गर्नु पर्दा धेरै गाह्रो भएको थियो। अष्ट्रेलिया आफुले सोचेर आएको भन्दा त बिल्कुलै फरक पाएको थिए।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
त्यो समयमा मलाई काम पाउन पनि गाह्रो नै भएको थियो। मैले काम हस्पिटलबाट सुरु गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको बसाइले जिन्दगीमा धेरै संघर्ष गर्नु पर्दो रहेछ भन्ने कुरा सिकियो। र आफ्नो लागि आफैँ गर्नुपर्छ अन्त्यमा साथ दिने कोहि हुँदैन भन्ने कुरा पनि सिकियो। यहाँको राम्रो कुरा भनेको यहाँ आएर समयको महत्व बुझिन्छ र नराम्रो घरपरिवार धेरै मिस हुन्छ त्यहि हो।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
म खासै समुदायसंग घुलमिल छैन त्यसैले राम्रै लाग्छ। केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
अवश्य धेरै आउने गर्छ। काम हुँदा त काममा व्यस्त भएर केहि हुँदैन, कुनै चाडपर्वहरुमा पार्टीहरुमा संगै भए धेरै रमाइलो हुन्थ्यो भन्ने हुन्छ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
यहाँ आउनु भन्दा अगाडी सबै कुरा राम्रोसंग बुझेर आउनुहोला। यहाँ आफुले सोचेर आएको भन्दा धेरै फरक पाइन्छ, त्यसैले हतार नगर्नुहोला। आफ्नो दिमागमा चाहिँ जस्तो परिस्थितिसंग पनि पछि पर्दिन भन्ने सोच राखेर आउनुहोला। सुरुमै आफ्नो छोराछोरीसंग धेरै आशा नराख्दिनुहोला। उनीहरुले पैसा कमाउनको लागि पनि धेरै दु:ख गर्नु पर्ने हुन्छ, सकेसम्म बुझ्ने कोसिस गर्नुहोला भन्न चाहान्छु।