“अष्ट्रेलिया पढाई पुरा गरेपछि काम तिर लाग्ने सोच लिएर आउँदा राम्रो”

0
241

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएका सगर खत्रीसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर चितवन, पर्सा हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ३ बर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ? कुन युनिभर्सिटी /कलेजमा र कुन लेभलमा पढ्दै हुनुहुन्छ ?
म अहिले मोनश युनिभर्सिटी क्लेटन कलेजमा पढ्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ? कुन विषय पढ्नको लागि जानुभएको हो ?
मैले +२ लेभलको पढाई सकाएर आइ टि पढ्नको लागि अष्ट्रेलिया आएको थिए।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
राम्रो छ, यहाँको पढाई अनुसारको काम पाइन्छ पछिको करियर हेर्ने हो भने। नेपालको हेर्दा त धेरै राम्रो हो किनकी नेपालमा पढाई पुरा गरेपछि पनि हातमा आफ्नो कागजप्रत्र बोकेर काम खोज्दै हिड्नु पर्छ। तर, यहाँ त्यस्तो हुँदैन पढाई पुरा भएपछि भने काम पाईहालिन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
धेरै कुरामा फरक छ, यहाँको पढाई र काम अनि वातावरण मैले नेपालमा हुदाँ सोचेको जस्तो छैन। नेपालमा मैले अष्ट्रेलिया पनि नेपाल जस्तै त हो के नै फरक होला र सजिलै घुलमिल हुन्छु अनि पढ्दै पैसा कमाउछु भन्ने सोचेको थिए तर यहाँ आए पछि थाहा भयो धेरै संघर्ष गर्न पर्ने रहेछ।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई काम पाउन गाह्रो भएन किनकी मेरो घरतिरको चिनेको दाइले सहयोग गर्नु भएको थियो। मैले मेडिकल बाट काम सुरु गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई अष्ट्रेलियाको बसाईले आत्मनिर्भर हुन सिकायो। यहाँको सबै भन्दा राम्रो पक्ष अरुको आस नगर्नु जे गर्नु छ आफैँ गर्नु भन्ने छ अनि अर्को आफु एउटा नियम भित्र बसेर काम गरियो भने हरेक कुरामा सहज हुन्छ भन्ने पनि छ। नराम्रो भनेको परिवारसंग टाढा हुनुपर्ने चाहेको समयमा जान नपाइने हो।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
मैले नेपालीहरुले धेरै समूह बनाएर सहयोग गरेको सुनेको छु। तर ,म समावेश छैन त्यसैले ठिकै लाग्छ त्यसैले सुझावको लागि केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आफ्नो परिवारको सम्झना घर छोडेपछि आउने रहेछ। अहिले त चाहेर पनि आउन नमिल्ने ठाउँमा छु त्यसैले पनि होला चाडपर्वमा धेरै याद आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
पढाईको लागि आउनु धेरै राम्रो छ। पहिला पढाई पुरा गरेर काम तिर लाग्ने सोच लिएर आउनु यसो गर्दा पढाई राम्रो हुन्छ अनि जस्तो भने पनि काम पाउन सकिन्छ । आफ्नो मान्छे छन् भने नेपालबाट नै सबै कुरा बुझ्नु तर अष्ट्रेलियामा आएपछि भने कसैको आश नराख्ने सोच लिएर आउनु। जस्तो सुकै कठिन परे पनि आफैँ गर्छु नआत्तिकिन भन्ने भएर आउनु भन्न चाहन्छु। उहाँका अभिभावकलाई के भन्न चाहन्छु भने आफ्नो छोरा छोरी अष्ट्रेलिया जान लागे भन्दैमा सबै कुरामा छुट नदिनुहोला। आफैँ सबै बुझ्न सकिन्छ अहिलेको जमानामा हरकुरा खोजेर बुझ्न सकिन्छ।