ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

0
396

म्याग्दी, १५ माघ
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।

संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो । आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिनुभयो । “बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत गृह जोड्ने राहुघाट नदीमाथी ३७ मिटर लामो बेलिब्रिज निर्माण भएको छ”, उहाँले भन्नुभयो, “एक हप्ताभित्र बाँधतर्फबाट पनि सुरुङ खन्¬¬¬न सुरु गर्छौं ।”

तीन हजार ६०० मिटर लामो सुरुङ र एक किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४०० मिटर छ । एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताउनुभयो ।

कूल रु तीन अर्ब ५७ करोड लागत अनुमान गरिएको आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल बैंकको अगुवाइमा अन्य बैंकले लगानी गरेका छन् । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा बस्तीदेखि टाढा रहेको आयोजनाको दुई वर्षअघिदेखि थालिएको पहुँचमार्ग निर्माण सकिएपछि बाँध, सुरुङ र विद्युत्गृहको कामले गति लिएको छ ।

विद्युत्गृह निर्माणस्थलमा कटान रोकथामका लागि पर्खाल निर्माण गर्ने काम सकेर डिजाइन तयार पारिएको छ । राहुघाट नदीको बायाँतर्फबाट निर्माण भएको पहुँचमार्गलाई विद्युत्गृह र आउटलेट जोड्न राहुघाट नदीमा बेलिब्रिज बनाएको आयोजनाका जनसम्पर्क अधिकृत राम खत्रीले बताउनुभयो ।

यस आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माण हुन लागेको १३२ केभी क्षमताको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । ठूलोखोला राहुघाटको सहायक नदी हो । विद्युत विकास विभागका अनुसार राहुघाट र सहायक खोलामा १४६.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् ।

पाँच दशमलव पाँच मेगावाट क्षमताको एउटा आयोजनाले निर्माणको अनुमति मागेको छ । यस्तै २४.६५ मेगावाट क्षमताका तीन आयोजना सर्वेक्षणका क्रममा छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

तुदी पावर लिमिटेड प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना गत वर्षदेखि निर्माण सुरु भएको थियो । प्रवासी म्याग्देलीको अगुवाइमा मोना हाइड्रोपावर लिमिटेडले रघुगङ्गा–७ चिमखोलामा ५.५ मेगावाट क्षमताका बगरखोला जलविद्युत् आयोजनाको सर्वेक्षणको काम सकेर निर्माण सुरु गर्न विद्युत् विकास विभागमा अनुमति मागेको छ । बगरखोला पनि राहुघाटको सहायक नदी हो ।

रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा कर्णाली हाइड्रो लिमिटेडले ४.७५ मेगावाट क्षमताको स्यानोखोला जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति लिएको छ । कुइनेमङ्गलमै ग्रिन माउन्ट इनर्जी लिमिटेडले ४.९० मेगावाट क्षमताको अपर ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका विद्युत् विकास विभागले जनाएको छ ।

राहुघाट र सहायक नदीमा बन्ने जलविद्युत् आयोजना निर्माणलाई गति दिन मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोला हँुदै कुइनेमङ्गले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले जलविद्युत् आयोजनासँग साझेदारी गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।(रासस)