
कास्की – २०औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्ने भएका छन् ।खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । यसअघि ६ पटक उपाधि जितिसकेको मनाङले यसपटक फाइनलमा नयाँ प्रतिस्पर्धी पाएको हो । एपीएफ आहा राराको इतिहासमा दोस्रो पटक फाइनल खेल्दैछ ।
आहा राराको अनुभवी टोली मनाङ र बलीया टोलीलाई पाखा लगाउँदै दोस्रो पटक फाइनल पुगेका दुबै टोलीका प्रशिक्षक र टिम कप्तान फाइनलका लागि उत्साहित देखिएका छन् ।
पोखरामा शुक्रबार आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीहरुको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । कठिन परिस्थितिमा सहाराले प्रतियोगिता आयोजना गर्न मिहिनेत गरे जस्तै आफूहरुले पनि सोही अनुसारको खेलमा मिहिनेत गरेको बताएका हुन् ।त्यस्तै मनाङका प्रशिक्षक फुजा तोपेले एपीएफको प्रर्दशन पछिल्लो क्रममा राम्रो रहेको र आफुहरुलाई राम्रो प्रदर्शन गर्न दबाब रहेको बताए। उनले उपाधि जित्ने गरी आफूहरुले खेल प्रदर्शन गर्ने पनि बताएका छन् ।
प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजक सहाराले जनाएको छ ।यही माघ ६ गतेदेखी जारी प्रतियोगितामा विभिन्न १० टोलीले सहभागिता जनाएका थिए ।