अष्ट्रेलिया दिवस कार्यक्रमका बीच न्याभ टुर्नामेन्टको दोस्रो साताका खेल सम्पन्न

0
223

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा जारी १७औं न्याभ क्रिकेट टुर्नामेन्टको दोस्रो साताको खेल सम्पन्न भएको छ। गत १६ जनवरीबाट सुरु टुर्नामेन्टको खेल हरेक हप्ताको आइतबार हुने गर्दछ। जसमा यो हप्ता अष्ट्रेलिया दिवस विशेष कार्यक्रमका बीच खेल सम्पन्न भएको हो।

कार्यक्रममा सबैलाई अष्ट्रेलिया दिवस र न्याभको २५औं वार्षिकोत्सवको चिन्ह सहितका टोपी वितरण गरिएको थियो। उक्त टोपी लगाएर सहभागीहरुले दुवै देशको राष्ट्रिय गान गाएका थिए। कार्यक्रममा समुदायका अगुवाहरुले शुभकामना प्रदान गर्नुभएको थियो भने रिफ्रेसमेन्ट कार्यक्रम पनि राखिएको थियो। उक्त कार्यक्रम पश्चात टुर्नामेन्टका पूर्व निर्धारित खेल सम्पन्न भएका थिए।

पहिलो खेल रोयल राइनोज क्रिकेट क्लब र गोर्खाली क्रिकेट क्लब बीच भएको थियो। उक्त खेलमा रोयल राइनोजले गोर्खाली क्रिकेट क्लबलाई ५० रनले हराउन सफल भयो। ११७ रनको लक्ष्य प्रस्तुत गरेको रोयल राइनोजका लागि रक्कीले २७ र निरजले २६ रनको योगदान गरे। खेलमा गोर्खाली क्रिकेट क्लबका जेम्सले रोयल राइनोजको ३ विकेट लिएका थिए। यता गोर्खाली क्रिकेट क्लबले १६ ओभरमा ६७ रन मात्र बनाउन सक्यो, जसमा जेम्सले १८ रनको योगदान गरे। खेलमा रोयल राइनोजको तर्फबाट गोर्खाली क्रिकेट क्लबको ५ विकेट लिंदै युत्सव म्यान अफ द म्याच बन्न सफल भए।

दोस्रो साताको दोस्रो खेलमा एभरेष्ट लायन र गुल्मी टाइगर्स भिडेका थिए। उक्त खेलमा एभरेष्ट लायनले १३३ रनको लक्ष्य प्रस्तुत गर्यो, जसमा सुमितले २७ र दर्पणले २५ रनको योगदान गरेका थिए। एभरेष्ट लायनले दिएको लक्ष्यलाई पछ्याएको गुल्मी टाइगर्स १०४ रनमै सिमित हुनपुग्यो। गुल्मी टाइगर्सका लागि अम्रिकले ३३ र शिवले १२ रन दिएका थिए। उक्त खेलको म्यान अफ द म्याचको उपाधि सुरजले प्राप्त गरे।

अर्को खेलमा नर्रे किंग्स र फारवेस्ट हनटर्सबीच प्रतिस्पर्धा भएको थियो। जसमा नर्रे किंग्सका किरण कंडेल सेन्चुरी बनाउन सफल भएका थिए। उनले १०५ रन बनाए। त्यसैगरी ह्यारीले ३३ र रोशनले २७ रनको योगदान गर्दा नर्रे किंग्सले १८२ रन बनाउन सफल भयो। यता उमेश बडुले दिएको लोभलाग्दो इनिङ्ग्स ८४(५२) का बावजुद फारवेस्ट १२७ रनमा सिमित हुन पुग्यो। नर्रे किंग्सले जितेको उक्त खेलमा नर्रे किंग्सका किसनले ४ विकेट लिएका थिए। खेलमा सेचुरी गरेका किरण म्यान अफ द म्याच बने।

दोस्रो साताको अन्तिम खेल ग्लोबल इन्टरफेस र द हिमालयन क्लबबीच भएको थियो, जसमा पहिले ब्याटिंग रोजेको ग्लोबलले १६८ रनको लक्ष्य प्रस्तुत गर्यो। ग्लोबल इन्टरफेसका लागि सरोजले ३६, सुसनले २९ र नबिनले २२ रन जोडेका थिए। बलियो प्रदर्शन गरेका द हिमालयनका बलर आलोकले २ विकेट लिन सफल भए। ग्लोबल इन्टरफेसले दिएको लक्ष्य पछ्याउँदै द हिमालयनले २० ओभरमा १२५ रन मात्र बनाउन सफल भयो। द हिमालयनका लागि रोशनले २३, राज र केशवले २१/२१ रनको योगदान गरे। खेलमा ग्लोबल इन्टरफेसका नविन र उत्सवले २/२ विकेट लिएका थिए। खेलको म्यान अफ द म्याचको उपाधि ग्लोबल इन्टरफेसका सरोजले प्राप्त गरे।