“अष्ट्रेलिया आएर जस्तो सुकै दुख गर्न सक्छु भन्नेहरुको लागि अवसर धेरै छ”

0
159

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अस्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका निकिता लिम्बुसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो?
नेपालमा काठमाडौँ, बनस्बारी हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो?
म अष्ट्रेलिया २०१४ मा आएको हो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो?
मलाई खासै गाह्रो भएन, सजिलै थियो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो?
युनिभर्सिटी पढ्नु राम्रो लाग्छ। युनिभर्सिटी पढाई पनि राम्रो हुन्छ, हो महँगो छ तर पढाई पनि त्यही अनुसारको राम्रो हुन्छ। पछि पिआरको लागि प्रोसेस गर्न पनि सहज हुन्छ। युनिभर्सिटीमा पढेपछि काम पाउन पनि सहज हुन्छ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
म अहिले पढाई सकेर काम गर्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो?
+२ को पढाई सकेर आएकी हु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ? करियर निर्माणका लागि कत्तिको सहज छ?
पढ्ने मान्छेलाई हर जहाँ कोहि पनि राम्रो छ। यहाँ आएर राम्रो पढ्नेहरूको अहिले सम्म करियर बिग्रेको छैन, त्यसैले राम्रोसंग भविष्य सम्झिएर पढ्नेलाई सजिलो छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ?
मलाई घुम्न, नाच्न सपिङ्ग गर्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
मैले नेपालबाट धेरै आशा राखेर आएको थिए। अष्ट्रेलियामा म पढ्न जाने होभन्ने त दिमाखमै थिएन भन्दा पनि हुन्छ। पढ्ने त एउटा बहाना मात्र हो पैसा कमाउन जाने हो, सजिलै धेरै पैसा कमाउछु भन्ने थियो। अष्ट्रेलियामा गएर रमाइलो गर्छु अनि धेरै ठाउँमा घुम्न जान्छु भन्ने लागेको थियो यो सबै सम्भव त थियो तर सोचेको जस्तो सजिलो भने थिएन।

काम पाउन कत्तिको गाह्रो भयो? सुरुमा कसरी काम पाउनुभएको थियो?
मलाई काम पाउन धेरै गाह्रो भएको थियो। म अष्ट्रेलिया आएको ४/५ महिना पछि सामाजिक सञ्जालबाट पाएकी थिए।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के हुन्?
अष्ट्रेलियाको सबै कुरा राम्रो लाग्छ मलाई, यहाँको ठाउँ राम्रो राम्रो छ घुम्नको लागि र यहाँको हरेक ठाउँको दृश्यले एउटा न एउटा शिक्षा दिइरहेको हुन्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई?
म खासै यस्तो कुरामा समावेश छैन त्यसैले थाहा छैन।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ?
केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ?
मलाई मेरो भाइ बहिनी र बाबा आमाको धेरै याद आउछ। चाडपर्वमा उहाँहरुको साथ नहुँदा एक्लो महशुस हुन्छ त्यही हो।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
मलाई अष्टेलियाले आत्मनिर्भर हुन ,संघर्ष गर्न र आफ्नो मान्छे चिन्न सिकायो।

अष्ट्रेलियाआउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
हजुरहरु आउँन चाहानु हुन्छ भने ठिकै छ आउनु अष्ट्रेलियामा जोस जागर भएकालाई अवसर पनि धेरै छ। म जस्तो सुकै दुख पनि गर्न सक्छु कहिल्यै केहि कुरामा पछि हट्ने छैन भन्ने सोच लिएर आउनु भन्न चाहन्छु।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
पहिलो कुरा त छोरा छोरी विदेश जान खोजे भन्दैमा खुसी भएर उनीहरुले जे गर्छन् त्यसमै सहमति जनाउने नगर्नुहोला। आफुले पनि राम्रो संग बुझेर कहाँ जान खोज्दैछन् के सोचले जान खोजेका छन् र कसको मार्फत जान खोजेका छन् त्यो राम्रो संग बुझेर गर्नु भयो भने लुटिने र फस्सिने डर कम हुन्छ अनि उनीहरुलाई पनि धेरै कुरामा सहज हुन्छ भन्न चाहन्छु।