प्रवासी नेपाली मञ्चले विदेशमा बस्ने नेपालीलाई पनि भोट हाल्ने व्यवस्था मिलाउन माग गर्दै

0
139

क्यानबेरा। विदेशमा बस्ने नेपालीहरुलाई पनि भोट हाल्न देउ भन्दै प्रवासी नेपाली मञ्चले विश्वभरीका नेपाली दुतावासमा ज्ञापनपत्र बुझाएको छ । नेपालभन्दा बाहिर रहेका नेपालीहरुलाई नागरिकता, पासपोर्ट र परिचय पत्रको आधारमा मतदानमा सहभागी हुने व्यवस्था गर्न प्रवासी नेपाली मञ्चले माग गरेको हो।

कोरिया, अष्ट्रेलियासहित विश्वका धेरैजसो देशमा सोमबार नै ज्ञापनपत्र बुझाइएको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले जानकारी दिनुभयो । हिमालयन कंगारूसंग कुरा गर्दै पाण्डेले रोजगारका शिलशिलामा बाध्यताबस नेपाल बाहिर रहेका लाखौ युवालाई देशको नेतृत्व छान्ने प्रक्रियाबाट अलग राख्दा प्रजातन्त्र नै कमजोर हुने बताउनुभयो । उहाँका अनुसार नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स भित्र्याउने प्रवासीहरुलाई देशको नेतृत्व निर्माणमा नै बाहिर राख्नु अन्याय भएकोले आफुहरुले अभियान थालेको बताउनुभयो। संविधानले समेत सबै बालिक नेपालीको मताधिकार सुनिश्चित गरेको तथा सर्वोच्च अदालतले समेत प्रवासमा बस्ने नेपालीलाई भोट हाल्न दिनु भन्ने आदेश दिएको छ। त्यसैले प्रवासी नेपालीहरुलाई पनि ५ वर्षका लागि देशको नेतृत्व छान्ने भन्ने कुरा निकै महत्वपुर्ण हुने गर्दछ। पाण्डेले भन्नुभयो- ‘प्रवासका नेपालीले भोट हाल्न पाउने भएमा राजनीतिक दलहरुले आफ्नो घोषणा पत्रमा बैदेशिक रोजगारका समस्या समाधानका लागि योजना र नीतिहरु ल्याउनेछन् साथै जुन पार्टीले राम्रो गर्छ प्रवासमा बस्ने नेपालीले उसैलाई भोट हाल्दा समस्या समाधानमा टेवा पुग्दछ ।’

पाण्डेले भन्नुभयो, “समय फरक फरक छ । यसैकारण कसैले आजै बुझाउनुभयो कसैले भोलिसम्ममा यो काम सक्नुहुनेछ । हामी निरन्तर दबाब दिएर यस पटक विदेशमा बस्ने नेपालीको मतदाधिकार सुरक्षित गर्ने अदालतको निर्णयलाई कार्यान्वयन गराउनेछौं ।” प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशीको नेतृत्वमा क्यानबेरा पुगेको टोलीले लिखित ज्ञापनपत्र कार्यवाहक राजदूत दुरपदा सापकोटालाई हस्तान्तरण गरेको छ । कार्यक्रममा सहभागी हुन सिड्नीबाट टोली नै क्यानबेरा पुगेको थियो ।