न्याभ टुर्नामेन्ट नयाँ पुस्ता र नेपाली समुदायबीचको पुल बन्न सक्छ: भिम न्यौपाने

0
452

मेलबर्न। अष्ट्रेलियामा जारी १७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्टका कारण यतिबेला नेपाली समुदायमा क्रिकेटको रौनक छाएको छ। नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा टुर्नामेन्ट आयोजना गर्दै आएको छ। यसपटक न्याभको रजत जयन्तिको अवसरमा टुर्नामेन्ट आयोजना गरिएको हो। टुर्नामेन्टमा यसपटक १० टिम सहभागी भएका छन्।

गत १६ जनवरीदेखि सुरु टुर्नामेन्टलाई सफल बनाउनका लागि समुदायका उल्लेख्य व्यवसायिक संस्थाहरुले साथ दिएका छन्। लामो समयदेखि गुणस्तरीय सेवा दिंदै पर्यटन क्षेत्रमा स्थापित हुन सफल बुद्ध ट्राभल्स एण्ड टुर्स टुर्नामेन्टको गोल्ड स्पोन्सरको रुपमा रहेको छ। यसै सेरोफेरोमा रहेर आज हामीले बुद्ध ट्राभल्स एण्ड टुर्सका सीईओ भिम न्यौपानेसंग कुराकानी गरेका छौं।

यो व्यवसायिक क्षेत्रमा कसरी आउनुभयो ?
म अष्ट्रेलिया आएको २२ वर्ष भयो। त्योभन्दा अगाडी नेपालमा हुँदादेखि नै पर्यटन व्यवसायमा आबद्ध थिएँ। अष्ट्रेलिया आइसकेपछि हस्पिटालिटी, बिजनेस र पर्यटनसम्बन्धि पढें। आफ्नो करियरलाई अगाडी बढाउने क्रममा २००५ बाट हस्पिटालिटी व्यवसाय सुरु गरें। त्यसपछि अष्ट्रेलियामा मेरो व्यवसायिक यात्रा सुरु भयो भनौं। यो यात्रालाई निरन्तरता दिंदै २००८ मा ट्राभल सम्बन्धि व्यवसाय ‘बुद्ध ट्राभल्स’ सुरु गरें। व्यवसायले आफ्नो करियर मात्र बन्दैन, समुदायमा रोजगारी सिर्जना गर्दै आवश्यक परेको खण्डमा हातेमालो गर्न सकिन्छ भन्ने सोंचले मैले व्यवसायमा हात हालेको हूँ। र, सबैको साथ हौसलाले यो स्थानसम्म आइपुगेको छु। कोभिडको समयमा समेत बुद्ध ट्राभल्स बन्द नगरी सेवाग्राही र समुदायको हितका निम्ति हामी लागिरह्यौं। बुद्ध ट्राभल्सले सधै सेवाग्राहीको समस्या र भावनालाई बुझेका कारण यति लामो समयसम्म निरन्तरता पाएको छ र अझ फैलिने प्रयास गरिरहेको छ। अष्ट्रेलियाको मेलबर्न, सिड्नी र ब्रिसबेन, न्युजील्याण्डको अकल्याण्ड र नेपालको काठमाडौंमा बुद्ध ट्राभल्सका कार्यालय रहेका छन्। नेपालको पर्यटन क्षेत्रमा थप योगदान पुर्याउने उद्देश्यका साथ हामी अगाडी बढिरहेका छौं। यसबाहेक अष्ट्रेलियामै रहेर पनि मैले नेपाली कलाक्षेत्रमा विभिन्न तवरबाट काम गरिरहेको छु।

न्याभ टुर्नामेन्टमा कुन सिजनदेखि प्रायोजकको रुपमा रहँदै आउनुभएको छ ?
भिक्टोरियावासी नेपालीलाई एक गराउन, नेपाली संकृतिको सम्बर्द्धन र प्रबर्द्धन गर्न साथै खेल टुर्नामेन्ट लगायत बृहत कार्यक्रमबाट समुदायलाई अगाडी बढाउन न्याभले अनुकरणीय प्रयास गरिरहेको छ। यो प्रयासमा साथ दिनु हामी सबैको कर्तव्य हो। व्यवसायको सुरुवातदेखि नै म न्याभ टुर्नामेन्टमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संलग्न हुँदै आएको छु। गत वर्ष कोभिडले व्यवसायमा क्षति पुगेको अवस्थामा समेत हामीले न्याभ टुर्नामेन्टका लागि सहयोग गरेका थियौं। यो केवल संस्थाका लागि सहयोग मात्र होइन, हामी व्यवसायीहरुका लागि पनि व्यवसाय प्रबर्द्धन गर्ने अवसर हो।

भिक्टोरियाको नेपाली समुदायमा न्याभ टुर्नामेन्टको स्थान कस्तो देख्नुहुन्छ ?
न्याभ टुर्नामेन्टलाई यहाँको स्थानीय सरोकारवालाले समेत चासो दिएर हेरिरहेका छन्। यसलाई यही स्थितिमा अझ राम्रो बनाउँदै अगाडी लैजान सक्यौं भने यहाँको राजनीतिक, व्यवसायिक र सामाजिक हरेक पाटोमा यसले प्रभाव पार्नसक्ने म देख्छु। त्यसैले न्याभ टुर्नामेन्ट यहाँको सिंगो नेपाली समुदायका लागि गौरव हो। यसलाई हामी सबै मिलेर अझ धेरै सभागितामूलक र प्रभावकारी बनाउंदै लैजानुपर्छ।

अष्ट्रेलिया आएका नेपाली युवाहरुको खेल सपनामा न्याभ टुर्नामेन्टको भूमिका कस्तो रहेको छ ?
नेपाली युवाहरु जो, यहाँ आफ्नो करियरका लागि संघर्ष गरिरहेका छन्, उनीहरुका लागि त न्याभ टुर्नामेन्टले धेरै ठूलो प्लाट्फ़र्म सिर्जना गरिदिएको छ। अघि नै भनिसकें, स्थानीय सरोकारवालाहरुको समेत आँखा परिरहेको छ। त्यसैले युवाहरुले यसलाई अवसरको रुपमा चिनेर आफ्नो मेहनतलाई निरन्तरता दिनुपर्छ।

यसपालीको टुर्नामेन्टका लागि कति उत्साहित हुनुहुन्छ ?
गत वर्ष कोभिडको समयमा त टुर्नामेन्ट सफल भयो भने, अहिले त स्थिति केही सहज छ। त्यसैले पनि यसपाली उत्साह बढेको छ। कोभिडले आक्रान्त बनाएको अवस्थामा टुर्नामेन्टले नयाँ ऊर्जा ल्याउनेछ भन्नेमा म विश्वस्त छु।

टुर्नामेन्टलाई अझै व्यापक र राम्रो बनाउनका लागि के गर्नुपर्ला ?
न्याभ टुर्नामेन्ट आयोजक समितिले जसरी काम गरिरहेको छ, त्यो प्रशंसनीय छ। त्यसमा पनि अझ विरोधाभाष कुराहरुलाई ध्यानमा राख्ने र यसको प्रचारप्रसार बढाउने हो भने यो टुर्नामेन्ट बृहत बन्नेछ भन्ने मलाई लाग्छ। यसका लागि कोही एक व्यक्ति र आयोजक कमिटि मात्र भएर पुग्दैन, समग्र समुदायको सहयोग आवश्यक पर्छ। अर्को महत्त्वपूर्ण कुरा, हामीले यहाँ हुर्किरहेको दोस्रो पुस्तालाई पनि ध्यानमा राख्नुपर्छ। दोसोर पुस्तालाई नेपाली समुदायमा मिलाउनु चुनौतीपूर्ण छ। यो न्याभ टुर्नामेन्ट नेपाली समुदाय र यहाँ हुर्किरहेको नेपाली मूलको दोस्रो पुस्ताबीच पुल बन्न सक्छ। टुर्नामेन्टले दोस्रो पुस्तालाई सजिलै आकर्षित गर्न सकिन्छ भन्ने मलाई लाग्छ। जसले गर्दा उनीहरुका लागि नेपाली समुदायसंग घुलमिल हुने, अपनत्वको भावना महसुस गर्ने वातावरण बन्नेछ।

अन्त्यमा, अष्ट्रेलियामा नेपाली व्यवसायीहरुका लागि कस्ता चुनौती र अवसर रहेका छन् ?
जहाँसुकै व्यवासय गरेपनि ‘होमवर्क’ राम्रोसंग गर्नुपर्छ। केवल चाहनाले मात्र व्यवसाय हुँदैन। हाम्रोमा होमवर्क नगरी चाहनाकै भरमा, देखेकै भरमा व्यवसाय गर्ने चलन छ। कोभिडले धेरै व्यवसायीलाई यसको पाठ पनि सिकाएको छ। पूर्वतयारी गरेर व्यवसाय गर्नेले लामो यात्रा तय गर्नसक्छ।