“अष्ट्रेलिया पढ्न आउने हो, सुरुमै धेरै पैसा कमाउछु भन्ने सोच नराख्नु”

0
155

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अस्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका रीमा बस्नेतसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो?
नेपालमा काठमाडौँ, भत्तपुर हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो?
म अष्ट्रेलिया २००६ मा आएको हो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो?
ठिकै थियो, गाह्रो भनेर त्यति गाह्रो पनि भएन अनि सजिलो भनेर त्यति सजिलो पनि भएन।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो?
कलेज सस्तो पनि हुन्छ। अनि पढ्दै काम गर्न मिल्ने भएको भएर हामी विद्यार्थीहरुलाई सजिलो पनि हुन्छ। पछि भिसाको लागि प्रोसेस गर्न पनि कलेजबाट समय धेरै भएको भएर सहज हुन्छ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
म अहिले पढाई सकेर काम गर्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो?
+२ को पढाई सकेर आएकी हु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ? करियर निर्माणका लागि कत्तिको सहज छ?
अष्ट्रेलियाको पढाईले जुन सुकै देशमा गए पनि करियर बनाउन सकिन्छ, यहाँको पढाईले पछुताउन पर्दैन। नेपालमा जस्तो पढाई अनुसारको काम नहुने, काम मुस्किलले पाए पनि तलब राम्रो नपाउने भन्ने हुँदैन। अष्ट्रेलियामा पढेर नेपालमै गएर आफ्नै व्यवसाय गर्न पनि सकिन्छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ?
मलाई यात्रा गर्न र किताबहरु पढ्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
धेरै फरक छ, मैले नेपालमा हुदाँ यति गाह्रो होला काम गर्न, पढ्न, पैसा कमाउन र आफ्नो परिवार संग बोल्ने समय नहुने यस्तो केहि सोचेको नै थिइन्। मैले अरुले सामाजिक सञ्जालमा राखेको फोटो हेर्दा उनिहरु पैसा सजिलै कमाउने रहेछन् अनि घुम्ने गर्छन् होला भन्ने सोचेकी थिए तर त्यति सजिलो रहेनछ यहाँ आएर देखे पछि थाहा भयो।

काम पाउन कत्तिको गाह्रो भयो? सुरुमा कसरी काम पाउनुभएको थियो?
मलाई काम पाउन धेरै गाह्रो भयो, मेरो आफ्नो साथीहरुको सहयोगबाट काम पाएकी थिए।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के हुन्?
अष्ट्रेलिया बस्दा मलाई मुख्य कुरा ठिक लागेको भनेको यहाँ कसैले पनि केहि कुरामा हार भने मान्न नहुने रहेछ। पहिला आफु जुन ठाउँमा गईएको छ त्यहाँको वातावरणमा बिझ्न सक्नु पर्छ केहि गाह्रो नहुने रहेछ करियर बनाउन। नराम्रो भनेको यहाँको सरकारले कति बेला कुन नियम बनाईदिन्छ थाहा नै हुँदैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई?
म त्यति घुलमिल छैन त्यसैले पनि खासै थाहा छैन।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ?
केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ?
सम्झना त आउछ नै हरेक कुरामा घर बाट टाढा छु काम बाट घर आउदा ममीले पकाएर राखेको खाना सम्झिन मन पर्छ। प्रत्येक वर्षको चाडपर्वमा धेरै याद आउछ आफु बिरामी हुँदा ममीले राख्नुभएको याद आउँछ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
विश्वस्त हुन र आत्मनिर्भर हुन सिकायो।

अष्ट्रेलियाआउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
मलाई जस्तो दुख हजुरहरुलाई नहोस् भनेर केहि सुझाव सल्ला दिन्छु। आउन चाहानुहुन्छ आउनु तर धेरै राम्रो संग बुझेर मात्र आउनु, आफ्नो करियरको कुरा हो लापरबाही नगर्नु। पढ्न आउने हो हामी सुरुमा त्यसैले छिटै धेरै पैसा कमाउछु भन्ने सोच नराख्नु होला। जस्तो सुकै परिस्थितिमा पनि हार मान्ने छैन जस्तो काम आईपरे पनि गर्न सक्छु भन्ने भएर आउनु।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
आफ्नो छोरा छोरी अष्ट्रेलिया पठाई सकेपछि धेरै आश नराख्दिनुहोला भन्न चाहन्छु। हजुरले नेपालमा बसेर सोचेको जस्तो सजिलो छैन यहाँ आएर गर्दा धेरै गाह्रो छ। आत्तिनु हुदैन बिस्तारै सबै हुन्छ भनेर सम्झाउनु होला। धेरै समय मिलाएर कल गर्न पर्छ त्यसलाई पनि बुझ्दिनुपर्छ भन्न चाहन्छु।