“अष्ट्रेलिया आउदैमा आत्तिन हुँदैन, जन्मिदै कसले पो जानेर आएको हुन्छ र !”

0
97

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका उसा किरण पाण्डेसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो?
मेरो घर गुल्मी, खैरेनी हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो?
म अष्ट्रेलिया आएको ५ बर्ष भयो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो?
एक पछि अर्को प्रोसेस सहजै तरिकाले भएर पनि होला मलाई खासै गाह्रो भएन।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो?
त्यो आफुमा भर पर्ने कुरा हो। अष्ट्रेलियामा त्यस्तो युनिभर्सिटी छ कि जुन विश्वकै दोस्रो स्थानमा पर्छ यदी त्यो युनिभर्सिटीमा नाम निकाल्न सकियो भने काम पाउन धेरै सहज पनि हुन्छ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
म अहिले काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ? करियर निर्माणका लागि कत्तिको सहज छ?
पढ्ने हो पढेर केहि गर्छु आफ्नो परिवारको लागि आफ्नो भविष्यको लागि भन्नेलाई धेरै राम्रो छ। सजिलो भन्दैमा हामीलाई सबै कुरा आफ्नो अगाडी आउदैन हामीले खोज्न र राम्रो नराम्रो छुट्टाउन सक्नु पर्छ करियरको लागि खासै गाह्रो पनि छैन।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ?
मलाई यात्रा गर्न र सपिङ्ग गर्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
अष्ट्रेलिया जान्छु सजिलै धेरै पैसा कमाउछु भन्ने मात्र सोच थियो तर अष्ट्रेलिया आए पछि थाहा हुन्छ हाड ओर्किङ्ग कतिको हुन्छ भनेर धेरै फरक छ नेपालमा हुँदा सोचेको भन्दा त।

काम पाउन कत्तिको गाह्रो भयो? सुरुमा कसरी काम पाउनुभएको थियो?
म आफुलाई भाग्यमानी पनि सम्झिन्छु अष्ट्रेलिया आएको ३ दिनमै काम आफै खोजेर लाएकी थिए। मेरो भाइ यही अष्ट्रेलियामा भएको भएर पनि मलाई काम पाउन त्यति गाह्रो भएन।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के हुन्?
विशेष गरि हामी जस्तै बिहे भएका महिलाहरुलाई आफ्नो परिवारलाई आफु आत्मनिर्भर भएको देखाउन पाइयो। नेपालमा जस्तै बिहे भएपछि घर समालेर बस्नुपर्ने अलि अलि पैसा कमाए पनि लुकाएर आफ्नो माइतीलाई सहयोग गर्न पर्ने भन्ने हुँदैन यहाँबाट मन खोलेर सहयोग गर्न सकिन्छ। नराम्रो भन्नु पर्दा अष्ट्रेलियाका मान्छेहरुको मुस्कुराएको अनुहार नै साँचो हुन्छ,तर विश्वास गर्न लायक नै हुँदैनन् हामी नेपालीको जस्तो भावनात्मक सम्बन्ध भन्ने हुँदैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई?
कहिँ कहिँ ठाउँमा राम्रो हुनुहुन्छ पहिला म बसेको ठाउँमा सहयोग गर्नु हुन्थ्यो अहिले बसेको ठाउँमा नेपाली नै होइन जस्तो गर्नु हुन्छ ठिकै लाग्छ।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ?
केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ?
सम्झना त आउँछ नि मिठो मिठो खाएको बेला संगै भएको भए भन्ने लाग्छ। अष्ट्रेलियामा खाने कुराहरु धेरैनै ताजा पाइन्छ त्यो देख्दा हाम्रो परिवार पनि यही हुनुभएको भए राम्रो ताजा खाने कुरा खानु हुन्थ्यो भन्ने लाग्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
आत्मानिर्भर हुन सिकायो।

अष्ट्रेलियाआउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
अरुको आस गरेर नआउनु कलेज राम्रो संग बुझेर मात्र अष्ट्रेलिया आउनु। साथै आत्तिन हुँदैन सबै कुरा बिस्तारै सिकिन्छ, जन्मिदै कसले पो जानेर आएको हुन्छ र !

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
छोरा छोरी पठाउन अघि राम्रो संग बुझ्नु आफ्नो मान्छे कोहि अष्ट्रेलियामा हुन्छ भने उहाँहरु संग पनि बुझ्नु र सहयोग गर्न भन्नु। आफ्नो बच्चा पठाई सकेपछि धेरै तनाब नदिनु पैसा नै ठुलो कुरा होइन त्यो बुझ्नु भन्न चाहन्छु।