“अष्ट्रेलिया अरुको बहकाउमा लागेर भन्दा आफैँले राम्रोसंग बुझेर आउनु”

0
478

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अस्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका ममता भुर्त्यलसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो नेपालको घर पोखरा हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म अष्ट्रेलिया आएको ५/६ वर्ष भयो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
मलाई त भिसाको लागि सहजै भएको थियो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
कुन रोज्दा ठिक हुन्छ भन्ने कुरा त आफैँमा भर पर्ने हो। आफु राम्रोसंग पढ्न सक्यो भने जहाँ पनि राम्रो हुने हो नत्र भए जति नै राम्रो ठाउँमा गएर पढेपनि कुनै प्रगति हुनेवाला छैन।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
नेपालमा म नर्सिङ्ग पढेर आएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
अहिले म काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
यहाँको पढाई राम्रोसंग पढ्नेहरुको लागि राम्रो छ नत्र भए समय बिताउन आउनेहरुको लागि त त्यस्तै छ। राम्रो पढेर प्रगति गर्नेले भविष्य पनि सजिलै निर्माण गर्न सक्छन र नसक्नेहरु चाहिँ सेलाएर नेपाल नै फर्किने गर्छन्।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मैले पढाई बाहेक खेलहरु खेल्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले खासै फरक पाएन किनकी मेरो आफन्तीहरु धेरै यतै हुनुहुन्थ्यो, त्यसकारणले मलाई बुझ्न सजिलो भयो। हामीले सोचेको भन्दा फरक चाहिँ हुने गर्छ। हामीले त अष्ट्रेलिया भनेपछि त धेरै सजिलो होला केहि गर्नु पर्दैन भन्ने सोचिन्छ तर त्यसको उल्टो भइदिन्छ।

काम पाउन कत्तिको गाह्रो भयो ? सुरुमा कसरी काम पाउनुभएको थियो ?
मलाई गाह्रो भएको थिएन। मैले काम नर्सिङ्गबाट सुरु गरेको थिए।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के हुन् ?
यहाँको सकारात्मक कुरा भनेको पढाई राम्रो छ र यहाँ आएर पढीसकेपछी बेरोजगार बस्नु नपर्ने राम्रो छ। साथै यहाँ गलत बाटोमा लागेर पनि सजिलै बिग्रन सक्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
यहाँको नेपाली समुदाय मलाई राम्रो लाग्छ। नेपालीहरु टन्नै हुनुहुन्छ र एकअर्कालाई सहयोग गर्ने पनि गर्नुहुन्छ।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ? के कुरा बढी सम्झना आउँछ ?
घरपरिवारबाट टाढा भएपछी सम्झना नआउने भन्ने त हुँदैन तर पनि यहाँ पनि धेरै नै आफन्तीहरु हुन्हुहुन्छ, त्यसकारण परिवार नै यहि भएको महसुस हुन्छ। चाडपर्वहरुमा चाहिँ धेरै मिस हुन्छ बाबाममीको।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
अष्ट्रेलियाको बसाइले एउटा राम्रो जिन्दगी जिउन सिकायो र जस्तोसुकै परिस्थितिमा पनि पछि हट्न हुँदैन भन्ने कुरा सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
यहाँ आउन चाहने नयाँ विद्यार्थीहरुलाई म के भन्न चाहन्छु भने सबै भन्दा पहिले अष्ट्रेलियाको बारेमा बुझेर आउनुहोला। अष्ट्रेलिया जाने भन्दैमा आफु कुन उद्देश्यले जाँदै छ भन्ने कुराको पनि ख्याल राख्नुपर्छ। गाउँघरमा घुमेर रमाइलो गरेर हिडेको जस्तो सजिलो हुँदैन अस्ट्रेलिया, त्यसकारण सबै कुरा बुझ्नु जरुरी हुन्छ। कतिपय मानिसहरु केहि नबुझी अरुको बहकाउमा लागेर आउँदा धेरै दु:ख समेत पाएका छन्, त्यसैले इन्टरनेटको माध्यमबाट भएपनि खोजेर बुझेर आउनुहोला भन्न चाहन्छु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
आफ्ना छोराछोरी अष्ट्रेलियामा छ, अब त उसलाई केहि कुराको आवश्यकता पर्दैन भन्ने हुँदैन। सुरुमा आउँदा जसलाई काम पाउन गाह्रो हुने गर्छ अझ कमाउन त परै जाओस्, त्यसकारण धेरै आश नराख्दिनुहोला भन्न चाहन्छु।