“अरु अष्ट्रेलिया गए भन्दैमा समाजलाई राम्रो देखाउन आफ्नो सन्तानलाई जोड नदिनु”

0
146

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अस्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका रोजी प्रजापतिसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर काठमाडौँ,बालाजु बाइपास हो

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म २०१४ मा अष्ट्रेलिया आएकी हु।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
मलाई सुरुमा गाह्रो भएको थियो। बिचमा रोकेर फेरी प्रोसेस गरेपछि भिसा आएको थियो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
अष्ट्रेलियामा आएर पढाई मात्रै गर्छु, पढाईले नै केहि गर्छु भन्ने सोच छ भने अथवा परिवारबाट पैसा पठाइदिने वातावरण छ भने चाहिँ युनिभर्सिटी रोज्नु राम्रो हो। नत्र भए आफै कमाउदै पढ्दै गर्छु र घरको आर्थिक अवस्था पनि त्यस्तै छ भने कलेज रोज्नु राम्रो हो।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
+२ लेभलको पढाई सकेर आएको हो।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
ब्याजलरमा नर्सिङ्ग पढ्नको लागि आएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
म अहिले काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
नेपालको हेर्दा त धेरै राम्रो छ। पढाईमा जोड दिनुपर्छ यहाँ, नेपालमा जस्तो पढाई हुँदै परिक्षा लिदै गर्ने भन्ने हुँदैन। व्यवहारिक हुन्छ अष्ट्रेलियाको पढाई त्यसैले राम्रो पनि हुन्छ। करियर निर्माणको लागि आफुले गर्न सक्यो भने पढाई अनुसारको क्षेत्रहरु पनि धेरै छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मलाई खाना बनाउन,नाच्न र यात्रा गर्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
राम्रो काम गरेर धेरै पैसा कमाउने छिटै भन्ने सोच थियो तर अष्ट्रेलिया आए पछि थाहा भयो काम पाउन एकदम गाह्रो रहेछ। नेपालमा बसेर आउन भन्दा अगाडी सोचेको भन्दा त सबै फरक छ। नेपालमा हुँदा सबै बुवा आमाले सबै मिलाईदिनु हुन्छ त्यसैले केहि गाह्रो हुँदैन तर अष्ट्रेलियामा सबै आफैँले गर्नपर्छ।

काम पाउन कत्तिको गाह्रो भयो ?सुरुमा कसरी काम पाउनुभएको थियो ?
म आउँदा गाह्रो थिएन आएको २/३ हप्तामै काम पाएकी थिए।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के -के हुन् ?
अष्ट्रेलियामा सबै सुविधा छ,यहाँ काम पढाई सबै एकदम राम्रो छ। यहाँको सरकारले भनेको कुरा अर्थवा नियम मान्नु पर्छ, यदी नियम विपरित गएर काम गर्यो भने जरिवाना समेत तिर्न पर्ने हुन्छ। नराम्रो भन्नलाई केहि छैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
नेपाली चाडपर्वमा र नयाँ सालमा धेरै कार्यक्रमहरु गर्नु हुन्छ रमाइलो हुन्छ। नेपाली नेपाली मिलेर आफ्नो सस्कृति जोगाएका छौ उहाँहरुको सहयोगमा खुसी लाग्छ। नेपालीहरु भेट हुन पाएका छौ नेपालमै चाडपर्व मनाए जस्तो अनुभव हुन्छ त्यसैले पनि राम्रो लाग्छ।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
नेपाली भएर नेपालीलाई दुख पर्दा सहयोग गरिदिनु भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?के कुरा बढी सम्झना आउँछ ?
सम्झना त धेरै आउँछ, अझै म नेवारी परिवारको भएरको भएर पनि धेरै मिस हुन्छ। परिवारसंग मिलेर धेरै रमाइलो गरेको सम्झना आउछ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
पैसाको महत्त्व चिन्न र आत्मनिर्भर हुन सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आएर सिकेको भन्दा पनि नेपालमा केहि काम सिकेर आउँदा धेरै राम्रो हुन्छ। जस्तोसुकै काम पनि गर्नु पर्ने हुन्छ त्यसैले आफ्नो दिमाखमा काम सानो ठुलो भन्ने नराख्नुहोला। पहिल्यै राम्रोसंग बुझेर सबै कुरामा समझदारी देखाउनुहोला भन्न चाहन्छु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
आफ्नो छोरा छोरीको इच्क्षा पनि राम्रो संग बुझिदिनुहोला। अरुको सन्तान अष्ट्रेलिया गए भन्दैमा समाजलाई देखाउन आफ्नो सन्तानलाई जोड नदिनुहोला भन्न चाहन्छु।