“अष्ट्रेलिया आउदैमा सबै कुरामा पूर्ण हुँदैन, शुन्यबाट जिन्दगी सुरुवात गर्नुपर्छ”

0
132

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल न्यूकासलमा बसोवास गरिरहनुभएका नब महर्जनसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर महाराजगन्ज, बसुन्धरा हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म अष्ट्रेलिया २०१४ मा आएको हो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
त्यो समयमा मलाई भिसाको लागि कुनै समस्या भएको थिएन।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
यहाँ आएर कुनमा पढ्ने भन्ने कुरा त आफ्नो उद्देश्यमा भर पर्छ। यहाँ राम्रोसंग पढेर नेपाल नै फर्किने हो भने युनिभर्सिटी रोज्नु राम्रो हो नत्र भए म पढेर यतै सेटल हुन्छु भन्नु हुन्छ भने कलेज रोज्नु राम्रो हो। कलेजमा पैसा पनि काम लाग्छ। मास्टर सकिएपछि काम खोज्न जाँदा केहि फरक पर्दैन, चाहे त्यो कलेज पढोस् या युनिभर्सिटी।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
नेपालमा मास्टर लेभलको पढाई पुरा गरेर आएको हो।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
म अष्ट्रेलियामा लेखासम्बन्धी पढ्न आएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
अहिले म काम गर्दै छु ।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
यहाँको पढाई धेरै राम्रो छ र यहाँको पढाईले करियर निर्माण पनि सजिलै गर्न सकिन्छ तर यहाँ काम खोज्दा कसरी खोज्ने भन्ने जानकारी चाहिँ थाहा हुनुपर्छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मलाई पढाई बाहेक बास्केट बल खेल्न र गितार बजाउन मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले सोचेको भन्दा त विल्कुलै फरक पाए। मलाई त लाग्थ्यो काम त सजिलोसंग पाउला भनेर तर यहाँको स्थानीय अनुभव भएको र जानकारीहरु थाहा भएकोले मात्र पाउन सक्दो रहेछ। यहि कुरामा चाहिँ मैले धेरै नै फरक पाएको थिए।

काम पाउन कत्तिको गाह्रो भयो ? सुरुमा कसरी काम पाउनुभएको थियो ?
काम पाउन गाह्रो भएको थियो। मैले आफन्तहरुसंग बुझेर काम पाएको थिए।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के हुन् ?
यहाँको सकारात्मक कुराहरु सबै अनलाइन मार्फत हुने गर्छ र घुम्नलाई ठाउँहरु रमाइलो छ। यहाँको नराम्रो कुरा मलाई चाहिँ के लाग्यो भने काम कसरी पाउने भन्ने जानकारी बुझ्न गाह्रो लाग्यो।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
अष्ट्रेलियाको नेपाली समुदाय मलाई राम्रो लाग्छ, तर नेपाली समुदायको मानिसहरुले धेरै शहरतिर मात्रै ध्यान केन्द्रित गर्नुहुन्छ। यो कुरा चाहिँ मलाई ठिक लाग्दैन, बाहिरतिर पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
म लिडरलाई के भन्न चाहन्छु भने नेपालीहरु सुरुमा यहाँ आउँदा काम खोज्न धेरै गाह्रो परेको हुन्छ, त्यसैले काम खोज्नमा सहयोग गर्नुहोला।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ? के कुरा बढी सम्झना आउँछ ?
सुरुसुरुमा धेरै नै घरपरिवारको मिस हुन्थ्यो तर अहिले यहाँ सबै आफ्नो समुदाय जस्तै बनिसकेको छ, त्यसकारण खासै सम्झना आउदैन। त्यहि हो दशैँ तिहार जस्तोमा चाहिँ संगै भएहुन्थ्यो जस्तो लाग्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
अष्ट्रेलियाको बसाइले आफ्नो मनको कुरा खुलेर भन्न सक्नुपर्छ भन्ने सिकायो। अरुको भरमा पर्नुहुँदैन, आफ्ना लागि गर्ने कोहि हुँदैन त्यसैले आफैँ केहि गर्नुपर्छ जस्ता कुराहरु सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउनु भन्दा अगाडी पछि आफु नेपाल फर्किने हो की यतै सेटल हुने हो त्यो कुराको निर्णय गर्नु जरुरी छ। अष्ट्रेलिया आउने भन्दैमा केहि नबुझी आउनुहुँदैन बरु केहि समय लगाएर भएपनि खोज तथा अनुसन्धान गरी के कस्तो हुन्छ भन्ने बारेमा बुझेर आउनुपर्छ। यहाँ आउदैमा सबै कुरामा पूर्ण हुँदैन कि पुरै शुन्यबाट जिन्दगीको सुरुवात गर्नुपर्छ, त्यसकारण यस्ता कुराहरुलाई ध्यानमा राखी भनिन्छ नि ‘सुखमा नमात्तिनु अनि दु:खमा नआत्तिनु’ जस्ता कुराहरु दिमागमा राखेर आउनुहोला भन्न चाहन्छु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
सकेसम्म आफ्ना आफन्तीहरुसंग बुझेर पठाउनुहोला। यहाँ देखेको जस्तो सजिलो फिटिक्कै छैन, त्यसैले बाहिरी देखेसुनेको भरमा पठाउनु हुँदैन। छोराछोरीलाई अष्ट्रेलिया पठाउन छ भने आफु पनि दिनरात नभनी खटिएर त्यहाँको अवस्थाबारे बुझेर पठाउनुहोला र बालबच्चा अष्ट्रेलिया छ कुनै कुराको आवश्यकता पर्दैन भन्ने हुँदैन । त्यस्तो अवस्थामा झन हजुरहरुको साथको जरुरत परेको हुन्छ, त्यसैले सक्दो सपोर्ट गरिदिनुहोला भन्न चाहन्छु।