‘न्याभ टुर्नामेन्टले एएनएमसीलाई सहयोग गर्दैछ, अझ बढी उत्साह थपिएको छ’

0
273

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा नेपाली समुदायको सबैभन्दा ठूलो टुर्नामेन्ट ‘न्याभ क्रिकेट टुर्नामेन्ट’ सुरु भएको छ। गत १६ जनवरीदेखि सुरु न्याभ टुर्नामेन्टको यो १७औं संस्करण हो। १७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्टमा यसपटक १० टिम सहभागी हुँदैछन्। यसबाहेक यसपाली न्याभ टुर्नामेन्टले नेपाली बहुसांस्कृतिक केन्द्र ‘एएनएमसी’ लाई सहयोग गर्ने भएको छ।

यसै सेरोफेरोमा रहेर आज हामीले एएनएमसीका अध्यक्ष राजेश आचार्यजीसंग कुराकानी गरेका छौं। आचार्य नेपाली समुदायमा स्थापित व्यवसायी समेत हुनुहुन्छ। उहाँ संस्थापक तथा डाइरेक्टर रहनुभएको ब्लु लोटस कलेजले १७औं ग्रेस न्याभ टुर्नामेन्टमा प्रायोजन समेत गरेको छ।

यो व्यवसायिक क्षेत्रमा कसरी आउनुभयो ?
नेपालमा हुँदा म बैंकिंग तथा अडिट क्षेत्रमा काम गर्थें। २००७ मा अष्ट्रेलिया आएँ, त्यसपछि यहाँ पनि सोही क्षेत्रमा करियर अगाडी बढाएँ। त्यसपछि आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सोंचले २०११ मा लोटस स्मार्ट सुरु गरें। लोटस स्मार्टले विशेषगरी अडिट तथा ट्याक्समा सेवा दिंदै आएको छ। अष्ट्रेलियामा करियर निर्माणको अनुभव र संगै व्यवसाय संचालनको समेत अनुभवले मलाई अझै अगाडी बढ्नुपर्छ भन्ने लागिरह्यो, अझै केही गर्नुपर्छ भन्ने लागिरह्यो। फलस्वरुप २०१९ मा ब्लु लोटस कलेज संचालनमा ल्याइयो। हाम्रो कलेजले विशेषगरी भोकेसनल शिक्षा तथा तालिममा सेवा दिंदै आएको छ। यस बाहेक म आइटि र मोटेल तथा रियल स्टेट व्यवसायमा पनि संलग्न छु। नेपाली समुदायको शुभेच्छा, साथ र हौसलाले आफ्नो व्यवसायिक क्षेत्रमा सक्दो योगदान दिने प्रयास गरिरहेको छु।

न्याभ टुर्नामेन्टमा कुन सिजनदेखि प्रायोजकको रुपमा रहँदै आउनुभएको छ ?
प्रत्यक्ष /अप्रत्यक्ष रुपमा न्याभ टुर्नामेन्टमा सहभागी भइरहेको नै छु। अहिले अझ नजिकबाट जोडिने, सहयोग गर्ने उद्देश्यका साथ ब्लु लोटस कलेज प्लाटिनम पार्टनरको रुपमा रहेको छ। यहाँको नेपाली समुदायकै ठूलो टुर्नामेन्टमा यसरी जोडिन पाउनु हाम्रा लागि गौरवको कुरा हो।

भिक्टोरियाको नेपाली समुदायमा न्याभ टुर्नामेन्टको स्थान कस्तो देख्नुहुन्छ ?
झट्ट हेर्दा चाहिं न्याभ टुर्नामेन्टमा समुदायको सहभागिता कम देखिन्छ। तर यो टुर्नामेन्टको स्थान भने व्यापक छ। यस टुर्नामेन्टप्रति युवाहरुको आकर्षण लोभ लाग्दो छ। उनीहरुले विदेशी भूमिमा पनि आफ्नो रुची, आफ्नो प्यासनलाई अगाडी बढाउने अवसर पाइरहेका छन्। अर्कोतिर, न्याभ टुर्नामेन्टले नेपाली मूलको दोस्रो पुस्तालाई नेपाली सामुदायिक संस्था तथा कार्यक्रमहरुप्रति आकर्षित गरिरहेको छ, जसले गर्दा एउटा आशालाग्दो वातावरणको सिर्जना भएको छ। खेलले शारीरिक तथा मानसिक स्वास्थ्यमा सहयोग त गर्छ नै, न्याभ टुर्नामेन्टले सिंगो नेपाली समुदायलाई बलियो बनाइरहेको छ।

अष्ट्रेलिया आएका नेपाली युवाहरुको खेल सपनामा न्याभ टुर्नामेन्टको भूमिका कस्तो रहेको छ ?
न्याभ टुर्नामेन्ट हरेक वर्ष अझ राम्रो हुँदै गइरहेको छ। टिम बढेका छन् र प्रतिस्पर्धा पनि कडा हुँदै गइरहेको छ। टुर्नामेन्टमा क्रिकेट खेल सम्बन्धि स्थानीय निकायका व्यक्तित्वहरुको पनि उपस्थिति हुनेगर्छ, जसले गर्दा राम्रो खेल प्रस्तुत गर्ने खेलाडीका लागि राम्रो अवसर पनि मिल्न सक्छ। अष्ट्रेलिया आएर संघर्षरत विद्यार्थीहरुमा न्याभ टुर्नामेन्टले खेल सपना फेरी जगाईदिएको छ भन्ने मलाई लाग्छ।

यसपालीको टुर्नामेन्टका लागि कति उत्साहित हुनुहुन्छ ?
यसअघिका टुर्नामेन्टमा म प्रत्यक्षभन्दा बढी अप्रत्यक्ष रुपमा संलग्न थिएँ। यसपाली सल्लाहकार समितिमा पनि छु, जसले गर्दा आयोजक टिम तथा खेलाडीहरुसंग अन्तरक्रिया गर्ने अवसर मिलिरहेको छ। आयोजक टिमले एकदमै राम्रो काम गरिरहेको छ। विशेषगरी टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेतीजीले गरिरहनुभएको मेहनत, प्रयास प्रशंसनीय छ। त्यसमा अझ यसपालीको टुर्नामेन्टले नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी) लाई सहयोग गर्दैछ, त्यो कुराले अझ बढी उत्साह थपेको छ।

एएनएमसीको उद्देश्य र हाल भइरहेका कामबारे बताइदिनुहोस् न !
भिक्टोरियामा नेपाली समुदायको आफ्नै बहुसांस्कृतिक केन्द्र निर्माण गर्नु एएनएमसीको मुख्य उद्देश्य हो। उक्त केन्द्रलाई हामीले एउटा स्थान या भवन मात्र नभएर नेपाली कला, संस्कृतिको प्रबर्द्धन गर्ने स्थान अर्थात् नेपाली कला, संस्कृतिको प्रतिकको रुपमा निर्माण गर्न चाहन्छौं। पशुपतिनाथ मन्दिर, स्वयम्भु संगै मिनी नेपाल महसुस हुने ठाउँको निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ। यसका लागि हामीले जग्गा लिइसकेका छौं र भवन निर्माणका लागि स्वीकृति लिने प्रक्रियामा छौं। तत्काल सुरुवाती चरणमा अस्थायी भवन, मन्दिर, स्तुपा र ध्यान केन्द्र बनाउने बारेमा पनि छलफल भइरहेको छ। सम्पूर्ण नेपाली समुदायले साथ दिइरहनुभएको छ। यसमा न्याभ टुर्नामेन्टद्वारा पनि सहयोग गर्ने आयोजक टिमले निर्णय लिएको छ। यसका लागि म एएनएमसीको वर्तमान अध्यक्षको हैसियतले न्याभ तथा टुर्नामेन्ट आयोजक समितिप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।

टुर्नामेन्टलाई अझै व्यापक र राम्रो बनाउनका लागि के गर्नुपर्ला ?
हालको टुर्नामेन्टको कुरा गर्दा कोभिड-१९ का कारण हामी सबैमा केही नर्भसनेस छ। तर यस्तो परिस्थितिमा पनि आयोजक टिम र सहभागी खेलाडीहरुको मेहनत तथा प्रतिबद्धता देख्दा लाग्छ, टुर्नामेन्ट आगामी वर्षहरुमा अझ राम्रो र अझ व्यापक हुँदै जानेछ। यसका लागि हामीले यो न्याभको टुर्नामेन्ट नभई सिंगो समुदायको हो भन्ने दृष्टिकोणले आवश्यक सहयोग गर्नुपर्छ। टुर्नामेन्ट आयोजक टिमले पनि व्यवस्थापनमा देखिन सक्ने त्रुटीहरुलाई मध्यनजर गर्दै, नयाँ अवधारणाहरु सिर्जना गर्दै अगाडी बढ्नुहुनेछ भन्ने मेरो विश्वास छ।

अन्त्यमा, अष्ट्रेलियामा नेपाली व्यवसायीहरुका लागि कस्ता चुनौती र अवसर रहेका छन् ?
अष्ट्रेलिया भनेको अवसरहरुको ठाउँ हो। तर त्यो अवसरसम्म पुग्न भने पक्कै चुनौतीपूर्ण छ। पहिले यहाँ संघर्ष गर्नुपर्यो, सेटल हुनुपर्यो अनि मात्र व्यवसायिक क्षेत्रमा जान सजिलो हुन्छ। नेपाली समुदायमा एउटाले कुनै व्यवसाय गरेको छ भने त्यसको सिको गरेर त्यही व्यवसाय गर्ने प्रचलन बढी छ। यसले गर्दा अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ र कति व्यवसायी डुबेका छन्। जहाँसुकै पनि व्यवसाय सुरु गर्दा आफ्नो अनुभव, दक्षता,रुची, धैर्यता र लगनशीलतालाई ध्यानमा राख्नुपर्छ।