“अष्ट्रेलियामा कुनै पैसाको रुख छैन, जे पनि सजिलो हुन्छ भन्ने भ्रम हटाउनुहोला”

0
263

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको न्यु साउथ वेल्समा बसोवास गरिरहनुभएका राम अधिकारीसँगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो नेपालको घर झापा, दमक हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म अष्ट्रेलिया आएको ३/४ वर्ष भयो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
मलाई त भिसाको लागि ठिकै भएको थियो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
मेरो अनुभवमा यहाँ पढ्न आउँदा युनिभर्सिटी रोज्नु राम्रो जस्तो लाग्छ। यसको मतलब कलेज नराम्रो भन्न खोजेको चाहिँ होइन तर मान्यताको हिसाबले चाहिँ युनिभर्सिटी नै रोज्दा राम्रो हुन्छ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालमा ब्यजलर लेभलको पढाई सकेर आएको हो।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
म बायो टेक्नोलोजी पढ्न आएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
अहिले म काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
नेपालको तुलनामा यहाँको पढाई धेरै फरक र राम्रो पनि छ। नेपालमा जस्तो सैदान्तिक मात्र यहाँ पढाई हुँदैन। यहाँको पढाई व्यावहारिक धेरै साथै सैदान्तिक पनि हुने गर्छ, त्यसैले मलाई राम्रो लाग्छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
खासै समय पनि मिल्दैन, त्यसैले पढाई बाहेक केहि कुरामा पनि छैन।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालमा मैले सोचेको अष्ट्रेलिया र यहाँ आएपछिको अष्ट्रेलियामा धेरै फरक पाए। उताबाट बाहिरी रुपमा देखेको जस्तो हुँदैन रहेछ। त्यहि हो काम चाहिँ धेरै गर्नुपर्छ। सुरुसुरुमा सबैसंग घुलमिल हुन् र कसरी काम खोज्ने भन्ने कुरामा दोधार परेको थिए।

काम पाउन कत्तिको गाह्रो भयो ? सुरुमा कसरी काम पाउनुभएको थियो ?
काम पाउन धेरै गाह्रो भएको थियो। ६ महिनासम्म काम नगरी बसेको थिए। पछि बल्ल साथीको माध्यमबाट पाएको थिए।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के हुन् ?
अष्ट्रेलियामा मेहनत गर्नेको लागि ठाउँ छ,नगर्नेलाई छैन। यहाँको नराम्रो कुरा भनेको मान्छेहरु बिग्रनको लागि पनि धेरै कुराहरु छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
मलाई यहाँको नेपाली समुदाय खासै ठिक लाग्दैन किनकी आखिर नेपाली नै त हो सबै हाम्रो खुट्टा तान्ने प्रविधि लागु गर्ने गर्छन्।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
नेपाली समुदायको लिडरलाई म के भन्न चाहन्छु भने हामी एउटै देशबासी भएपछी हाम्रै हितको लागि काम गर्नुहोला।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ? के कुरा बढी सम्झना आउँछ ?
यहाँ रहँदा परिवारसंग कुनै पार्टी, बिहे र ब्रतबन्धनमा गएको याद आउँछ। आफ्नो गाउँठाउँ र साथीभाईको सम्झना आउने गर्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
अष्ट्रेलियाको बसाइले मलाई चाहिँ मेहनत गर्न सक्नुपर्छ, जहाँ भएपनि हामी आफ्नो खुट्टामा उभिन सकिन्छ भन्ने कुरा सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलियामा आउनेहरुले चाहिँ त्यहाँ गएर जस्तो सुकै परिस्थितिसंग पनि लड्न सक्छु भन्ने भएर आउनुहोला। अष्ट्रेलिया हो जे पनि सजिलो हुन्छ भन्ने भ्रम हजुरहरुमा छ भने अहिले नै हताउनुस। हामीले देखेको र सोचेको भन्दा ठ्याक्कै विपरित पाइन्छ। अनि म अष्ट्रेलियामा गएर रमाइलो गर्छु, घुम्छु भन्ने हिसाबले नआउनुहोला, यहाँ गाउँघरमा घुम्न हिडेको जस्तो हुँदैन भन्न चाहन्छु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलियामा आफ्नो छोराछोरीको राम्रो होस् भन्ने चाहानु हुन्छ भने धेरै आश नराख्दिनुहोला। अष्ट्रेलियामा कुनै पैसाको रुख छैन, यहाँ पनि कमाउनको लागि मेहनत गर्नैपर्छ बस यति फरक हो नेपालीहरु आफ्नो देशमा त्यहि काम गर्न लजाउछन् भने यहाँ चाहिँ गर्नुपर्छ। सुरुसुरुमा काम पाउन धेरै गाह्रो हुन्छ, त्यसैले उनीहरुप्रति हौसला बढाईदिनुहोला भन्न चाहन्छु।