दुई विभागीय टोली पुलिस र एपीएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

0
216

काठमाण्डाै – दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

त्रिवि मैदानमा आज भएको पहिलो सेमिफाइनलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा पुगेको हो । यस्तै दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई ४७ रनले हराउँदै एपीएफ फाइनलमा पुग्यो ।

भोलि बुधबार हुने फाइनलमा एपीएफ र पुलिस उपाधिका लागि खेल्नेछन् । आजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५५ रन बनायो । पुलिसका पवन सरार्फले सर्वाधिक ५९ रनको अर्धशतकिय पारी खेले । वाग्मतीका रिजन ढकाल र नन्दन यादवले समान दुई तथा प्रतिश जिसीले एक विकेट लिए । १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको वाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन मात्रै बनायो । वाग्मतीका ओपनर आदिल खानले सर्वाधिक २७ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोडे । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पुलिसका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाँच विकेट लिए । सागर ढकालले २ र आरिफ शेखले १ विकेट लिए । त्यस्तै त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ३० रन बनायो ।

एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८४ रनको अर्धशतकिय पारी खेले । त्यस्तै लोकेश बम ६६ रनमा अविजित रहे । प्रदिप ऐरीले ५७ रन जोडे । आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक/एक विकेट लिए । एपीएफले जितका लागि दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको आर्मीले ९ विकेट गुमाएर १ सय ८३ रन मात्रै बनाउन सक्यो । आर्मीका राजेश पुलामीले सर्वाधिक ३८ रन जोडे । भिम सार्कीले ३५ तथा सुमित श्रेष्ठले २२ रन बनाए ।

एपीएफका शरद भेषवाकरले सर्वाधिक तीन विकेट लिए । अविनाश बोहरा र भुवन कार्कीले दुई/दुई विकेट लिए ।