सुपर कपको उपाधि रियल म्याड्रिडलाई

0
304

एजेन्सी । रियल म्याड्रिडले १२औँ पटक सुपर कप उपाधि जितेको छ । गएराति भएको खेलमा साविक विजेता एथ्लेटिक बिल्बाओलाई २-० गोल अन्तरले पराजित गर्दै रियललले उपाधि हात पारेको हो ।

रियललाई उपाधि दिलाउनको लागि लुका मोड्रिच र करिम बेन्जेमाले समान एक-एक गोल गरे । खेलको ३८औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगोको पासमा गोल गरेको थिए ।

५२औं मिनेटमा कप्तान करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । बेन्जेमाकै प्रहारलाई पेनाल्टी बक्समा यारेको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायता लिदै रियललाई पेनाल्टी प्रदान गरेको थियो । जसलाई बेन्जेमाले सजिलै गोलमा परिणत गरे ।

खेलको अन्त्यतिर रियलका एडर मिलिटाओले हातले बल रोकेपछि मैदानबाहिर जान परेको थियो । बिल्बाओले पनि यसबाट पेनाल्टी पायो तर राउल गार्सियाको प्रहारलाई थियाबट कोर्टवाले उत्कृष्ट बचाऊ गरे । जीतसँगै रियल चिर प्रतिद्वन्द्वी बार्सिलोनाको १३ वटा सुपरकपको कीर्तिमानको नजिक पुगेको छ ।