“नेपालमा राम्रोसंग पढ्ने हो भने आउनु पर्दैन :अष्ट्रेलिया”

0
36

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलवर्नमा बसोवास गरिरहनुभएका सुनिल श्रेष्ठसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो नेपालको घर भरतपुर हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म अष्ट्रेलिया आएको ५ वर्ष भयो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
मलाई भिसाको लागि एकदमै गाह्रो भएको थियो। भिसाको प्रोसेसको लागी एक वर्ष लागेको थियो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
मलाई चाहिँ पढाई अलि राम्रो हुने हुँदा युनिभर्सिटी रोज्नु राम्रो जस्तो लाग्छ। तर आ-आफ्नो विचार हो कुनमा पढ्ने भनेर। यदि काम गर्दै पढ्दै गर्ने हो भने चाहिँ कलेज रोज्नु ठिक हुन्छ नत्र भए पहिला राम्ररी पढ्छु अनि कमाउछु भन्ने हो भने युनिभर्सिटी रोज्नु राम्रो हो।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालमा +२ लेभलको पढाई सकेर आएको हो।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
आइटि विषय पढ्न आएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
अहिले म काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
मेरो अनुभवमा यहाँको पढाई व्यवहारिक बढी छ। नेपालमा जस्तो सैदान्तिक धेरै हुने खालको यहाँ त्यस्तो पढाई हुँदैन। यहाँको पढाई व्यवहारिक भएको कारण करियर निर्माण सहजै रुपमा गर्न सकिन्छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मलाई पढाई बाहेक गितार बजाउन र क्रिकेट खेल खेल्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालबाट सोचेर आउँदा यस्तो काम गर्छु, त्यहाँ सजिलो नै हुन्छ होला भनेर आउने गर्छौ तर यहाँ आएर आफुले भोग्दा त्यस्तो हुँदैन। त्यहि हो हामीले सोचेको भन्दा पाइन्छ तर पछि काम गर्दै गएपछि बानी पर्छ।

काम पाउन कत्तिको गाह्रो भयो ? सुरुमा कसरी काम पाउनुभएको थियो ?
मलाई काम पाउन गाह्रो नै भएको थियो। यहाँ आफ्नो मान्छे नभइकन काम पाउन सजिलो छैन। मैले मेरो साथीलाई भनेर किचनबाट सुरु गरेको हो।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के हुन् ?
यहाँ आएर करियर राम्रो बनाउन सकिन्छ। पढाई अनुसारको काम पाइने र कामको इज्जत हुने गर्छ। यहाँको नराम्रो खासै केही छैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
म नेपाली समुदायसंग खासै समावेश छैन काम गरिराख्नु भएको छ, अझै सहयोग गर्दै जानु होला भन्न चाहन्छु।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
केही छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ? के कुरा बढी सम्झना आउँछ ?
नजिकको तिर्थ हेला भनेको जस्तै भएको छ, घरपरिवार छोडेर आएपछि सम्झना त धेरै आउँछ। मलाई त विशेष गरी घरमा ममीले खाना बनाएर दिनुभएको धेरै सम्झना आउँछ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
अष्ट्रेलियाको बसाईले आत्मनिर्भर हुन् सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
नेपाल मै राम्रोसंग पढ्ने हो भने त अष्ट्रेलिया आउन पनि पर्दैन। तर आफ्नो इच्छा छ भने राम्रोसंग सबै कुरामा बुझेर आउनुहोला। यहाँ आएपछि गाउँघरमा समय बिताए जस्तो हुँदैन काम वा पढाईतिर धेरै जोड दिनुपर्छ। आफु के पढ्न आउने हो त्यसको बारेमा आफ्नो साथीभाइहरुसंग सरसल्लाह लिएर आउँदा अझ राम्रो हुन्छ। त्यहि हो अष्ट्रेलिया हामीले सोचेको जस्तो छैन, त्यसैले केही सिपहरु सिकेर आउनुहोला भन्न चाहन्छु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलियामा सुरुमै आउने बित्तिकै काममा लागिहाल्छ भन्ने हुँदैन, त्यसैले पैसा चाहियो भनेर तनाव नदिनुहोला। हजुरहरुले नेपालमा बसेर सोचेको जस्तो छैन, धेरै गाह्रो छ। म त अझ के भन्छु भने दुइओटा छोराछोरी छ भने मात्र पठाउनु नत्र भए एउटा मात्रै छ भने नपठाउनुहोला भन्न चाहन्छु।