कोभिड–१९ को जोखिमका बीच गहनान र वासुधारामा स्नान गर्नेको घुइँचो

0
200

डोटी, १ माघ

दिपायल सिलगढी नगरपालिका–३ स्थित वासुधारा तथा शिखर नगरपालिका–१० बानीडुग्रीसैन स्थित गहनानमा स्नान गर्नेको भीड लागेको छ ।

माघी पर्वका अवसरमा यहाँका प्रसिद्ध तीर्थस्थलका रुपमा मानिँदै आएको यी दुवै स्थानमा बिहानैदेखि स्नान गर्नेको भीड लागेको हो । यो तीर्थस्थलमा स्नान गर्दा पुण्य हुने विश्वासका साथ भक्तजनले आज बिहानै त्यहाँ पुगेर नुहाउने गर्छन् । मकर सङ्क्रान्तिका दिन यहाँ स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक मान्यताअनुसार बिहानैदेखि भक्तजन तथा तीर्थालुको भीड लागेको बानीडुग्रीसैनका स्थानीयवासी प्रेमबहादुर बलायरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “माघ महिना धार्मिक महिनाका रुपमा चिनिन्छ, यहाँका गहनान र वासुधारामा नुहाए सबै पाप नास हुने र पुण्य प्राप्ति हुने भन्ने विश्वासले भक्तजन बिहान ४ बजेदेखि नुहाउन र पूजापाठका लागि लाइनमा लागेका छन्, यसले यहाँको वातावरण निकै रमणीय बनेको छ ।” गहनानमेलामा छिमेकी जिल्ला डडेल्धुरा, बैतडीको ढुङ्गाढक्षेत्रबाट पनि भक्तजन आउने गरेका उहाँको भनाइ छ ।

यसैगरी दिपायलस्थित वासुधारामा जिल्लाभित्रका भक्तजनसहित छिमेकी जिल्ला अछामबाट पनि भक्तजन नुहाउन आउने गरेको दिपालय विमानस्थलका स्थानीयवासी मोहन पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “वासुधाराको पानी (जल) पवित्र हुने तथा कुनै पनि धार्मिक कार्य गर्दा उक्त जल प्रयोग गरिए शुद्ध हुन्छ भन्ने मान्यताका कारण यहाँ स्नान गर्ने भक्तजनको ठूलो भीड लागेको छ ।” छिमेकी जिल्लाबाट पनि आजका दिन स्नान गर्न यहाँ भक्तजन आउने गदर्छन् ।स्नान तथा जल लैजान आएका भक्तजनको आज यहाँ ठूलो भीड लागेको उहाँको भनाइ छ ।

यसैगरी जिल्लाभरीमा आज माघ १ गते, चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । हरेक वर्ष माघे सङ्क्रान्तिलाई डोटीसहित समग्र सुदूरपश्चिममा विशेषरुपमा मनाउने चलन छ । माघे सङ्क्रान्तिदेखि सूर्य धनुबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिएको दिपायलका स्थानीयवासी तथा पण्डित मेखराज भट्टले बताउनुभयो । आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ ।(रासस)