अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अब हप्ताको २० घण्टाभन्दा बढि काम गर्न पाउने अनुमति

0
217

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्ताको २० घण्टा भन्दा बढि काम गर्न पाउने भएका छन्। प्रधानमन्त्री स्कट मोरिसनले प्रभावित क्षेत्रहरूमा कार्यरत विद्यार्थीहरुलाई २० घण्टा काम गर्ने क्याप हटाउँदै नयाँ निर्णय गरेका हुन्।

प्रधानमन्त्री स्कट मोरिसनले कोभीड- १९ को संक्रमण द्रुत गतिमा बढ्दै गएपछि खाद्यान्न आपूर्ति जस्ता महत्वपूर्ण क्षेत्रमा कर्मचारीहरुको अभाव र स्वास्थ्य प्रणालीको सुरक्षा बीच सन्तुलन राख्न आवश्यक रहेको जानकारी गराए। गत वर्ष अष्ट्रेलिया सरकारले श्रम शक्तिमाथिको दबाबलाई कम गर्न पर्यटन, आतिथ्य र वृद्ध हेरचाह क्षेत्रमा काम गर्ने विदेशी विद्यार्थीहरूलाई काम गर्ने घण्टा प्रतिबन्ध हटाएको थियो। यसरी बैठकमा नयाँ नियमले संक्रमितसंग नजिक भएका तर कोभीड -१९ जांच नेगेटिभ आएको अवस्थामा काममा फर्किन छुट दिने र सुरक्षित रुपमा अध्ययनमा फर्काउने साथै आइसोलेसनको नियमबारे छलफल गरिएको थियो।

अष्ट्रेलियामा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू रिटेल, उत्पादन, आतिथ्य, सरसफाई, रेस्टुरेन्ट र वृद्ध हेरचाह क्षेत्रमा काम गर्छन्। ओमिक्रोन भाइरसको फैलावटका कारण यी क्षेत्रहरूमा कामदारको कमी भए पछि यो नियम लागु गरिएको हो।