रोयल वेस्टर्न क्लबको आयोजनामा नि:शुल्क प्राथमिक उपचार तथा सिपिआर तालिम सम्पन्न

0
544

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा दुई दिने प्राथमिक उपचार तथा सिपिआर तालिम सम्पन्न भएको छ। रोयल वेस्टर्न क्लबको आयोजना तथा च्यान्डलर आरटीओको सहकार्यमा उक्त नि:शुल्क तालिम सफलतापूर्वक सम्पन्न भएको हो।

तालिममा भिक्टोरियाका बिभिन्न नेपाली खेलकुद क्लबका खेलाडीहरु, क्लबका कार्यसमिति सदस्यहरु लगायत नेपाली समुदायका अन्य सहभागीहरुले भाग लिएका थिए। खेलाडीहरुलाई खेल खेल्ने क्रममा हुनसक्ने दुर्घटना लगायत अन्य आवश्यक स्वास्थ सम्बन्धि समस्या आइपरेको बेलामा उचित तरिकाले प्राथमिक उपचार गर्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रोयल वेस्टर्न क्लबका सचिव सुशील चालिसेले जानकारी दिनुभयो।

सहभागीहरुले आफ्नो जीवनमा आइपर्ने स्वास्थको बिभिन्न आकस्मिक समस्यालाई सहि तरिका अपनाई नियन्त्रण गर्न तालिममा सिकेका कुराहरुले मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए। जनवरी १० र ११ तारिखमा सम्पन्न उक्त तालिममा पहिलो दिन २० जना र दोश्रो दिन १७ जना गरि जम्मा ३७ जना सहभागी भएका थिए। अष्ट्रेलियन सरकारको सामाजिक सेवा विभागबाट प्राप्त भल्युण्टियर ग्राण्ट्स एकटिभीटि अन्तर्गत तालिम संचालन गरिएको हो। Level 1 14/785 Pascoe Vale Road ग्लेंरोयमा संचालित तालिममा सहभागीहरुका लागि खाजाको व्यवस्था समेत गरिएको थियो।

च्यान्डलर आरटीओका निर्देशक बसन्त बगालेले यसरी तालिममा सहकार्य गर्दै सामाजिक गतिविधिमा समेत हातेमालो गरि अघि बढ्न पाउँदा खुशी लागेको बताउनुभयो। उहाँले आगामी दिनहरुमा पनि सहकार्य गर्दै अघि बढ्ने उत्साह मिलेको उल्लेख गर्दै आवश्यक सहयोगका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो। तालिममा सहभागी रोयल वेस्टर्न क्लबका म्यानेजर दिपेन्द्र खड्काले तालिमबाट प्राथमिक उपचारमा अपनाउनुपर्ने बिभिन्न तरिकाहरु बारे जानकारी प्राप्त गरेको र यसबाट आफूमा स्वास्थ सम्बन्धि केहि समस्या आइपरेमा कसरी त्यसको समधान खोज्ने भन्ने सहि तरिकाहरु सिक्न पाउँदा आफूमा आत्मविश्वास बढेको बताउनुभयो।

तालिम कार्यक्रमका संयोजक तथा क्लबका उपाध्यक्ष रोशन दाहालले प्राथमिक उपचार तथा सिपिआर तालिम संचालन गर्न पाउँदा निकै खुशी लागेको उल्लेख गर्नुभयो। उहाँले तालिममा सम्पूर्ण सहभागीहरु लगायत तालिम संचालनमा सहकार्य गर्दै सहयोग पुर्याएकोमा च्यान्डलर आरटीओ संस्था परिवार प्रती हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले आगामी जनवरी २६ तारिख, फेब्रुअरी १२ र १३ तारिखमा क्लबले अष्ट्रेलियामा देशव्यापी रगत तथा प्लाज्मा दान कार्यक्रम संचालन गर्न लागेको समेत जानकारी गराउनुभयो।

यस संस्थाले मेलबर्नमा प्राथमिक उपचार, सिपिआर तालिम, सर्टिफिकेट ३ इन इण्डिभिजियल सप्पोर्ट ( डिज्याबलिटी ) लगायत सर्टिफिकेट ३ इन इण्डिभिजियल सप्पोर्ट ( एजिंग ) का कोर्सहरु संचालन गर्दै आएको छ। संस्थाबाट तालिम लिएका सहभागीहरु निकै सन्तुष्ट रहेको तथा सम्बन्धित कामहरु पनि प्राप्त गर्न सफल भएको बताएका छन्।