अष्ट्रेलियावासी नेपालीले विशेष कार्यक्रमका बीच मनाए पृथ्वी जयन्ती

0
147

अष्ट्रेलियामा बस्ने नेपालीहरुले विशेष कार्यक्रमको आयोजना गरेर पृथ्वी जयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली दिवश कार्यक्रम भर्चुअल रूपमा मनाएका छन्। नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सम्मान अनि सम्झनामा यस वर्ष पनि ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ एबम् पृथ्वी जयन्ती मनाएका हुन्।

अष्ट्रेलियाका नेपाली युवा सामाजिक अभियन्ता दिपक पौडेलले उक्त कार्यक्रम मार्फत पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र भूमिकाबारे टिप्पणी गर्ने हैसियत वर्तमानको राजनीतिक नेतृत्व र विभिन्न स्वघिषत अभियन्ताहरूको नरहेको धारणा व्यक्त गरे। उनले भने, ‘ईतिहासलाई गर्व नगर्ने र त्यसबाट नसिक्ने हो भने हामी नेपाली कहिल्यै अगाडी बढ्न सक्दैनौं।’ अष्ट्रेलियन नेपाली समाजका प्रसिध्द लेखक चिन्तक नवराज खरालले टिस्टा काँगडामा छुटेका नेपालीले देश गुम्दाको पीडा नेपाल भित्रका नेपालीले बुझ्न नसकेको बताए। त्यसैगरी अष्ट्रेलियामा सामुदायिक पत्रकारिता गर्ने सरल गुरूङले यति खेर नेपालीलाई पृथ्वीनारायण शाह जस्तै पात्रको आवश्यकता रहेको र जात, धर्म लगायत अनेक नाममा विभाजित भएकालाई एक पार्ने माला चाहिएको बताएका छन्।

अष्ट्रेलियन नेपाली साहित्यकार प्रकाश पौडेलले तत्कालिन ब्रिटिश साम्राज्यसँग जुधेर नेपालको सार्वभौमिकता कायम गरेको ईतिहासलाई मानेर अगाडी जानुपर्ने बताए। साथै उनले भने, ‘ईतिहासलाई कसैले पाना च्यातेर हराउन सकिँदैन र ईतिहास मेटेर नेपाली नेपाली रहन सकिँदैन।’ यसैगरी एनआरएन अष्ट्रेलियाका पूर्व प्रवक्ता तथा लेखा, वित्त तथा बैकिङ व्यवसायी डिला खरेलले नेपाली राष्ट्रियता र ईतिहास विश्वभर छरिएका नेपालीहरूमा गर्वको रूपमा रहेको बताउँदै त्यसलाई दोश्रो तेश्रो पुस्तामा समेत स्थापित गर्नमा जोड दिनुपर्ने बताए।

अष्ट्रेलियाको न्यूसाउथवेल्समा पृथ्वीनारायणको सम्झना भर्चुअल भएपनि ब्रिजबेन, क्यानबेरा, मेलबर्न, एडिलेड, तासमानिया, डार्बिन लगायतका मुख्य शहरहरूमा पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरेर भौतिक रूपमा नै पृथ्वी जयन्ती तथा अन्तराष्ट्रिय नेपाली दिवश मनाईएको थियो। अष्ट्रेलियामा अवस्थित नेपाली समाजमा अग्रणि भूमिकामा रहेका विभिन्न समाजसेवीहरुले पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै विश्वभर फैलिएका नेपालीहरूले अन्तर्राष्ट्रिय नेपाली दिवश मार्फत नेपाली हुनुको आत्मबोध गर्नुपर्नेमा जोड दिएका थिए।