“अष्ट्रेलिया आएर पढाई पुरा नगर्दासम्म डलरको पछि नलाग्नु”

0
51

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका सन्जोग बानियासंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर काठमाडौँ, कमलविनायक हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म २०१५ मा अष्ट्रेलिया आएको थिए।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
मलाई गाह्रो भएन एकपछि अर्को प्रोसेस सजिलै भयो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
मेरो विचारमा कलेज पढ्न राम्रो हुन्छ, किनकी कलेज सस्तो पनि छ। जहाँ पढे पनि पढ्ने आफुले हो। काम सित मिलाएर रूम भाडा तिर्न सबै कुरामा सहज हुने भएर सस्तो कलेज नै पढ्दा राम्रो लाग्छ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
+२ लेभलको पढाई सकेर आएको थिए।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
आइ टि पढ्नको लागि आएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
म अहिले काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
अस्ट्रेलियाको पढाई धेरै राम्रो छ, यहाँको पढाईले पछुताउन पर्दैन। पढेर अष्ट्रेलियामा नै सेटल हुन्छु भन्नेहरुलाई पनि पढाई अनुसारको काम पाइन्छ अनि नेपालमै गएर केहि गर्छु भन्नेको लागि पनि अवसर धेरै छन्।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मलाई साथीहरु संग रमाइलो गर्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालमा हुँदा अष्ट्रेलियाको बारेमा मैले धेरै सोचेको थिए । अष्ट्रेलिया आएपछि थाहा भयो धेरै दुख गर्न पर्छ पढ्दै पैसा धेरै कमाउछु भन्ने त नसोचेकै राम्रो हुन्छ। पठाई पुरा गर्ने समय सम्म पैसाको पछाडी लाग्नु हुदैन भन्ने थाहा भयो। बाबा ममीलाई पनि बोलाउन पाइरहेको छैन कोभिडको कारणले गर्दा दुख पनि लाग्छ।

काम पाउन कत्तिको गाह्रो भयो ?
मलाई काम पाउन खासै गाह्रो भएन मैले सामाजिक सञ्जालबाट काम पाएको छ।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के -के हुन् ?
अष्ट्रेलियाको बस्दाको राम्रो कुरा आत्मनिर्भर बन्न सकिन्छ र कामको कत्तिको महत्व हुन्छ भन्ने कुरा बुझिन्छ।अष्ट्रेलियामा बस्दा परिवारबाट टाढा हुने र आफ्नो लागि समय हुँदैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
मलाई खासै मन लाग्दैन यस्तो कुरामा त्यसैले थाहा भएन।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?के कुरा बढी सम्झना आउँछ ?
सम्झना त आफ्नो परिवारको धेरै आउछ। अहिले सामाजिक सञ्जालबाट कुरा भईरहेको हुन्छ त्यसैले खासै न्यास्रो लाग्दैन।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
आत्मानिर्भर हुन सिकायो, संधर्ष गर्न सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउदा धेरै राम्रो संग बुझेर आउनु होला। यहाँ काम सानो ठुलो भन्ने हुदैन त्यसैले जस्तो काम पनि गर्न सक्छु भन्ने सोचले आउनु होला। अष्ट्रेलियामा खर्च धेरै छ त्यसैले नेपालबाट होटेल लाइनको काम सिकेर आउनु भयो भने,भने जस्तै तलब पाइन्छ र आफुलाई व्यवस्थापन गर्न सजिलो हुन्छ भन्न चाहन्छु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
आफ्नो छोरा छोरी अष्ट्रेलिया पठाउदा राम्रो संग बुझेर पठाउनु होला। अरुको छोराछोरीले प्रगति देखेर आफ्नो छोरा छोरीलाई टेन्सन नदिनुहोला।बिरानो देशमा आएर संघर्ष गरिराखेका हुन्छन्, त्यसैले शंका भन्दा पनि उनीहरुमाथि विश्वास गरिदिनु भन्न चाहन्छु ।