‘न्याभ टुर्नामेन्टमा हामी की प्लेयर लिएर होइन, बलियो टिम बनेर आउँदैछौं’

0
361

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियावासी नेपालीहरुका लागि हरेक वर्ष उत्साह बनेर आउँछ, न्याभ कप। यसपाली न्याभ कपको १७औं सिजन हो। १७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्ट आगामी १६ जनवरीदेखि सुरु हुँदैछ, जसमा १० टिम उपाधिका लागि भिड्नेछन्।

ती दश टिम मध्ये माभेन क्रिकेट क्लबका कप्तान सुदीप पौडेलसंग हामीले न्याभ कप विशेष कुराकानी गरेका छौं।

एउटा टिम कप्तानको रुपमा आफ्ना अगाडी कस्ता चुनौती देख्नुभएको छ ?
खेलाडी अधिकांश विद्यार्थी छौं। त्यसैले बिदाको दिन धेरैको काम हुन्छ। समय मिलाउनु नै चुनौतीपूर्ण हुन्छ। तयारीदेखि टुर्नामेन्टभर खेल खेल्नसम्मका लागि सबैको समय मिलाउनु एकदमै गाह्रो छ। तर पनि हामी क्रिकेटप्रतिको लगनशीलतालाई छोडेका छैनौं, न्याभ टुर्नामेन्ट आयोजना र त्यसमा सहभागिता यसकै उदाहरण हो।

न्याभ क्रिकेट टुर्नामेन्ट कहिलेदेखि खेल्न थाल्नुभएको हो ?
रजिस्टर्ड क्लबको रुपमा हामी २०१८ देखि खेल्दै आएका छौं। न्याभ टुर्नामेन्टले निरन्तरता पाओस् र हामी पनि निरन्तर सहभागी हुन सकौं।

तपाईंको कप्तानीमा माभेन क्रिकेट क्लबबाट खेल्ने मूख्य खेलाडीहरु को-को हुनुहुन्छ ?
क्रिकेट खेल भनेको १/२ जना राम्रो खेलेर हुने खेल होइन। यसका लागि टिमका सबैजनाको उत्तिकै मेहनत चाहिन्छ । त्यसैले टिमका सबैजना की प्लेयर मान्छु म।

तपाईंले खेल्न सुरु गर्दाको न्याभ टुर्नामेन्ट र अहिलेको टुर्नामेन्टमा कस्तो फरक पाउनुभएको छ ?
न्याभ टुर्नामेन्ट हरेक वर्ष राम्रो हुँदै आएको छ। टिमको सहभागिता नै हेर्नुस्, बढिरहेको छ। त्यसैगरी खेलाडीलाई हौसला दिनका लागि विभिन्न प्रयास भएका छन्, व्यवसायिक संस्था र सिंगो समुदायको नै संलग्नता बढेको छ। न्याभ टुर्नामेन्ट अहिले भिक्टोरियावासी सबै नेपालीका लागि चासोको विषय बनेको छ।

नेपाली खेलाडीहरुको भविष्य कस्तो देख्नुहुन्छ ?
क्रिकेटमा भन्नुपर्दा, नेपाली खेलाडीको भविष्य राम्रो देख्छु म। राम्रो क्षमता भएका खेलाडीहरु ठूला प्लाटफर्ममा पुगेका छन् । नयाँ पुस्ताका खेलाडीका लागि पनि आशालाग्दो बनेको छ, क्रिकेट ।