न्याभ टुर्नामेन्ट र कोभिड-१९ सतर्कता सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न

0
367

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा १७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्ट आयोजना हुँदैछ। नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आयोजनामा हुने यो टुर्नामेन्ट यसअघि ९ जनवरीदेखि सुरु हुने तय भएको थियो। तर कोभिड-१९ का कारण टुर्नामेन्टको मिति १६ जनवरीका लागि सारिएको छ।

यसै सम्बन्धमा कोभिड-१९ का नियमलाई कसरी पालना गर्ने र आफू पनि कसरी संक्रमणबाट बच्ने भन्ने विषयमा छलफल सम्पन्न भएको छ। खेलाडी, सहभागीसंगै सिंगो समुदायको स्वास्थ्यलाई ध्यानमा राखेर न्याभले उक्त छलफल कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रम भर्चुअल रुपमा जुम मार्फत संचालन गरिएको थियो। उक्त कार्यक्रम मार्फत सविन अधिकारी कोभिड अफिसर नियुक्त हुनुभएको छ। कार्यक्रममा उहाँले टुर्नामेन्टका लागि कोभिड सम्बन्धि नियम र आउन सक्ने परिस्थितिका बारेमा बताउनुभएको थियो।

त्यसैगरी, न्याभका उपाध्यक्ष तथा न्याभ टुर्नामेन्टका संयोजक प्रेम राज उप्रेतीले कोभिडबाट सतर्क रहेर कसरी खेल्न सकिन्छ भन्ने विषयमा खेलाडीहरुलाई थप प्रकाश पार्नुभएको थियो। कार्यक्रममा प्रश्न-उत्तर सेसन राखिएको थियो, जसमा क्याप्टेनहरुले आफ्नो जिज्ञासाहरु राख्नुभएको थियो। कार्यक्रमको संचालन न्याभका कोषाध्यक्ष यकिन्द्र तिमिल्सिनाले गर्नुभएको थियो।

कार्यक्रममा सहभागी टुर्नामेन्टका सल्लाहकारहरु बिनित राज शर्मा, राजेश आचार्य, हरि खड्का, रामचन्द्र पौडेल, राम गुरुङ लगायत व्यक्तित्वहरुले कोभिड सम्बन्धि सतर्कताका लागि थप सल्लाह-सुझाव दिनुभएको थियो। राजेश आचार्यले कोभिडको समयमा पनि सतर्कता अपनाउंदै टुर्नामेन्ट आयोजना गर्न लागेकोमा आयोजक टिम र विशेषगरी संयोजक प्रेम राज उप्रेतीलाई धन्यवाद व्यक्त गर्नुभयो। नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी) का अध्यक्ष समेत रहनुभएका आचार्यले टुर्नामेन्टको अवधिभर नेपाली बहुसांस्कृतिक केन्द्रको प्रबर्द्धन गर्दै जनचेतना जगाउनुपर्ने धारणा राख्नुभएको थियो। न्याभले यसपटकको टुर्नामेन्टबाट नेपाली बहुसांस्कृतिक केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सल्लाहकार बिनित राज शर्माले संक्रमण दर बढेको भएतापनि खेलकुदको कार्यक्रमलाई रोक्ने अष्ट्रेलियन सरकारको योजना नदेखिएकोले टुर्नामेन्ट सुरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सबै मिलेर टुर्नामेन्ट सफल बनाई अन्य समुदायमाझ पनि उदाहरण बन्नुपर्ने बताउनुभयो। त्यसैगरी, १७औं न्याभ टुर्नामेन्टको मूख्य प्रायोजक संस्था ग्रेस इन्टरनेशनलका डाइरेक्टर राम चन्द्र पौडेलले यो विषम परिस्थितिमा टुर्नामेन्ट आयोजना गर्नु मुस्किल रहेको तर आयोजक टिमको सकारात्मक सोंचका कारण सम्भव हुने विश्वास लिएको बताउनुभयो। उहाँले टुर्नामेन्ट सफल बनाउनका लागि सबैको सहयोगको आवश्यकता रहेको समेत बताउनुभयो।

कार्यक्रममा बोल्दै एनआरएनए भिक्टोरिया संयोजक हरि खड्काले टुर्नामेन्ट आयोजनामा एनआरएनएको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, टुर्नामेन्ट सल्लाहकार तथा न्याभ अध्यक्ष राम गुरुङले टिमको यो दृढताको प्रशंसा गर्दै सहभागी क्याप्टेनहरुलाई शुभकामना दिनुभयो। कार्यक्रममा टुर्नामेन्टमा सहभागी हुने दश वटै टिमका क्याप्टेन र म्यानेजरको सहभागिता रहेको थियो।

१७औं ग्रेस न्याभ टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेतीले यो अवस्थामा पनि खेलाडी, क्लब, प्रायोजक संस्था, समुदायका अगुवा लगायत सम्पूर्णबाट मिलेको साथ र हौसलाले आफू नतमस्तक भएको बताउनुभयो। सबैको सल्लाह-सुझाव बमोजिम जाने उल्लेख गर्दै उहाँले टिमप्रतिको यो विश्वासका लागि सबैलाई धन्यवाद समेत दिनुभयो।