‘न्याभ टुर्नामेन्टको ट्रफी फेरी एकपटक उचाल्न तयारी गर्दैछ हिमालयन क्रिकेट क्लब’

0
443

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने नेपालीहरुको साझा संस्था हो, नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)। न्याभले यो वर्ष आफ्नो रजत जयन्ती मनाउँदै छ। विगत केही वर्षदेखि हरेक वर्षको वार्षिकोत्सवमा क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै आएको न्याभले यसपटक पनि न्याभ क्रिकेट टुर्नामेन्टको आयोजना गरेको छ। यो १७ औं न्याभ टुर्नामेन्ट हो।

१७औं ग्रेस न्याभ टुर्नामेन्टको सेरोफेरोमा रहेर हिमालयन कंगारुले हिमालयन क्रिकेट क्लबका क्याप्टेन सन्दीप कुमार यादवसंग विशेष कुराकानी गरेको छ:

एउटा टिम कप्तानको रुपमा आफ्ना अगाडी कस्ता चुनौती देख्नुभएको छ ?
यस सिजनका लागि त सबैभन्दा ठूलो चुनौती भनेको कोभिड देख्छु म। कोभिडको सबै नियम पालना गर्नुछ र संक्रमणबाट सबै खेलाडीलाई जोगाउनु छ। हाम्रो हिमालयन क्रिकेट क्लबले धेरै पटक उपाधि जितिसकेको छ। त्यसैले उपाधि हात पर्नु यसपटकका लागि चुनौती रहनेछ।

न्याभ टुर्नामेन्ट कहिलेदेखि खेल्न थाल्नुभएको हो ?
म न्याभ टुर्नामेन्ट खेल्न थालेको २०१५ देखि हो। न्याभले हरेक वर्ष यसरी क्रिकेट पर्व लिएर आइदिन्छ, खुसी लाग्छ।

तपाईंको कप्तानीमा हिमालयन क्रिकेट क्लबबाट खेल्ने मूख्य खेलाडीहरु को-को हुनुहुन्छ ?
टिमका सबै खेलाडीहरु उत्तिकै महत्त्वपूर्ण लाग्छ। तर पनि की प्लेयर्सकै कुरा गर्दा चाहिं रोशन पौड्याल, केशव पन्त, निशान्त सिंह, उदय देवकोटा हुनुहुन्छ।

तपाईंले खेल्न सुरु गर्दाको न्याभ टुर्नामेन्ट र अहिलेको टुर्नामेन्टमा कस्तो फरक पाउनुभएको छ ?
पछाडीका टुर्नामेन्टलाई सम्झिँदा त अहिले एकदमै फरक छ। २०१५ मा म मेलबर्न आएँ र त्यही वर्षदेखि खेल्न थालें। त्यतिबेला २५ ओभरको म्याच हुन्थ्यो। ४/५ वटा मात्र मुख्य टिम हुन्थे अनि सबैले सेतो ड्रेस लगाएका हुन्थे। अहिले त १० टिम सहभागी हुँदैछन् र ती अलग-अलग क्लबका टिम हुन्। सबै खेलाडीले आ-आफ्नो ड्रेस लगाउँछन्। पहिलेकोभन्दा अहिले खेलाडीहरु धेरै प्रतिभाशाली छन्, जसले गर्दा टुर्नामेन्ट अझ प्रतिस्पर्धात्मक र रोचक बन्दै गएको छ। न्याभ टुर्नामेन्टले नेपाली खेलाडीका लागि ठूलो सम्भावना सिर्जना गरिदिएको छ।

नेपाली खेलाडीहरुको भविष्य कस्तो देख्नुहुन्छ ?
म त सम्भावनायुक्त देख्छु। मैले ख्याल गरेको छु, धेरै राम्रो क्रिकेट खेल्ने खेलाडीहरु हाम्रो समुदायमा छन्, तर समय अभाव मुख्य समस्या हो। यसका लागि न्याभ टुर्नामेन्ट जस्तै वातवरण बन्दै जानुपर्छ। र, धेरै खेलाडीहरुलाई टर्फको अनुभव छैन। आउँदा दिनहरुमा न्याभले टर्फमा टुर्नामेन्ट आयोजना गर्नेछ भन्नेमा आशावादी छु।