‘न्याभ टुर्नामेन्टको उपाधिका लागि भिड्न बलियो बनेर आउँदैछौं’

0
347

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने नेपालीहरुको साझा संस्था हो, नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)। न्याभले यो वर्ष आफ्नो रजत जयन्ती मनाउँदै छ। विगत केही वर्षदेखि हरेक वर्षको वार्षिकोत्सवमा क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै आएको न्याभले यसपटक पनि न्याभ क्रिकेट टुर्नामेन्टको आयोजना गरेको छ। यो १७ औं न्याभ टुर्नामेन्ट हो।

१७औं ग्रेस न्याभ टुर्नामेन्टमा १० टिम सहभागी हुँदैछन्। ती मध्ये ग्लोबल इन्टरफेसका क्याप्टेन अविनाश पौडेलसंग हिमालयन कंगारुले गरेको टुर्नामेन्ट विशेष कुराकानी:

एउटा टिम कप्तानको रुपमा आफ्ना अगाडी कस्ता चुनौती देख्नुभएको छ ?
सबैभन्दा पहिले त यस्तो विषम परिस्थितिमा पनि टुर्नामेन्ट आयोजना गरेकोमा न्याभ र सहयोगी संस्थाहरुलाई धन्यवाद दिन चाहन्छु। कप्तानीको कुरा गर्दा, एउटा टिमको नेतृत्व गर्नु पक्कै पनि सजिलो छैन। तर त्यसले चुनौती मात्र ल्याएको हुँदैन, सिक्ने अवसर पनि दिन्छ। टिमको व्यवस्थापन गर्नु मात्र नभएर भविष्यका लागि पनि आशालाग्दो टिम निर्माण गर्नु क्याप्टेनको दायित्व हुन्छ जस्तो लाग्छ मलाई। क्याप्टेनको रुपमा सही समयमा सही निर्णय लिन सक्नु मुख्य चुनौती हो।

न्याभ टुर्नामेन्ट कहिलेदेखि खेल्न थाल्नुभएको हो ?
म २०१९ देखि न्याभ टुर्नामेन्ट खेल्न थालेको हूँ। यो प्लाटफर्मका लागि न्याभप्रति आभारी छु र न्याभ टुर्नामेन्टले वर्षौंसम्म निरन्तरता पाइराखोस्, शुभकामना।

तपाईंको कप्तानीमा ग्लोबल इन्टरफेसबाट खेल्ने मूख्य खेलाडीहरु को-को हुनुहुन्छ ?
टिममा धेरै राम्रा खेलाडीहरु हुनुहुन्छ । केही खेलाडीले टुर्नामेन्टमा हामीले अपेक्षा गरेभन्दा पनि बढी राम्रो प्रदर्शन गर्नुहुन्छ। निसंकेत बानियाँ हाम्रो की प्लेयरको रुपमा आउनुहुनेछ भन्ने लाग्छ र आशिष जिसी, संजोग दाहाल, किरण कंडेलको प्रदर्शन बलियो हुनेछ भन्नेमा हामी विश्वस्त छौं।

तपाईंले खेल्न सुरु गर्दाको न्याभ टुर्नामेन्ट र अहिलेको टुर्नामेन्टमा कस्तो फरक पाउनुभएको छ ?
न्याभ टुर्नामेन्ट भनेको हाम्रा लागि निकै ठूलो टुर्नामेन्ट हो। यस टुर्नामेन्टको उपाधि हामी सबै टिम र खेलाडीका लागि निकै सम्मानजनक उपाधि रहन्छ। त्यसैले न्याभ टुर्नामेन्टलाई हामी सबैले गम्भीरताका साथ लिन्छौं। व्यवस्थापकीय पक्षमा पनि न्याभ टुर्नामेन्ट हरेक वर्ष राम्रो हुँदै गइरहेको छ। आयोजक संस्था तथा टिमले हरेक वर्ष नयाँ आइडिया ल्याएर टुर्नामेन्टलाई अझ रोचक र उत्साहजनक बनाइदिनुहुन्छ।

क्रिकेटमा नेपाली खेलाडीहरुको भविष्य कस्तो देख्नुहुन्छ ?
धेरै लगनशील र मेहनती खेलाडीहरु हुनुहुन्छ। केहीले प्रिमियर क्रिकेटमा समेत खेल्नुभएको छ। यो हामी खेलाडीहरुका लागि एउटा मार्गनिर्देशन पनि बनेको छ। मलाई लाग्छ, हामीले लगनशील भएर मेहनतका साथ खेल्यौं भने नेपाली खेलाडी पनि अष्ट्रेलिया क्रिकेटको माथिल्लो तहसम्म पुग्न सक्छौं।