न्याभ टुर्नामेन्टमा नेपाली समुदायले सहभागिता बढाउनुपर्छ, यो हामी सबैका लागि हो: शंकर थापा

0
304

मेलबर्न। अष्ट्रेलिया नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभले) क्रिकेट टुर्नामेन्टको आयोजना गरेको छ। न्याभ टुर्नामेन्टको यो १७औं सिजन हो। न्याभको रजत जयन्तीको अवसरमा आयोजना हुँदै गरेको १७औं ग्रेस न्याभ टुर्नामेन्टलाई केन्द्रमा राखेर आज हामीले हङ्ग्री आई एशियन फ्युजन एण्ड बारका सीईओ शंकर थापाजीसंग विशेष कुराकानी गरेका छौं। सामाजिक क्षेत्रमा पनि क्रियाशील थापा मेलबर्न नेपलीज कम्युनिटी वेस्टको अध्यक्ष हुनुहुन्छ। त्यसैगरी उहाँ रोयल वेस्टर्न क्लबको कार्यकारी टिममा रहेर समेत काम गर्दै आउनुभएको छ।

९ जनवरीदेखि सुरु हुने १७औं न्याभ टुर्नामेन्टमा हङ्ग्री आई एशियन फ्युजन एण्ड बार प्रायोजक संस्थाको रुपमा रहेको छ।

आफ्नो व्यवसायिक यात्राको बारेमा केही बताइदिनुहोस् न !
म वास्तवमा रेष्टुरेन्ट क्षेत्रको व्यक्ति होइन। विद्यार्थीहरुलाई रोजगारी सिर्जना गरिदिन सकिने र संगसंगै समुदायको एउटा अभिन्न पाटो पनि बन्न सकिने देखेर म रेष्टुरेन्ट व्यवसायमा आएँ। हङ्ग्री आई एशियन फ्युजन एण्ड बार संचालनमा आएको चार वर्ष भयो। यो अवधिमा मेलबर्नमा हुने कार्यक्रममा हामीहरु सक्रिय रुपमा लागिरहेका छौं र सबैले साथ पनि दिइरहनुभएको छ, खुसी छौं।

न्याभ टुर्नामेन्टमा कुन सिजनदेखि प्रायोजकको रुपमा रहँदै आउनुभएको छ ?
पछिल्ला दुई सिजनदेखि रहेका छौं र यो हाम्रो तेस्रो सिजन हो। न्याभ टुर्नामेन्टले खेलाडी मात्र नभएर हामीलाई पनि व्यापार प्रबर्द्धन गर्ने एउटा प्लाटफर्म सिर्जना गरिदिएको छ। त्यसैले अझ लामो सहयात्रा गर्न पाउँ।

भिक्टोरियाको नेपाली समुदायमा न्याभ टुर्नामेन्टको स्थान कस्तो देख्नुहुन्छ ?
नेपाली समुदायमा यति राम्रो र ठूलो टुर्नामेन्ट हुनु भनेको हामी सबैका लागि खुसीको कुरा हो। यहाँको समुदायका लागि यो सबैभन्दा ठूलो इभेन्ट हो। तर टुर्नामेन्टका खेलहरुमा नेपाली समुदायको सहभागिता एकदमै कम हुन्छ। फाइनल खेलमा सहभागिता उल्लेख्य हुन्छ, तर बाँकी खेलमा भने त्यति चासो नदिएको देख्दा नमज्जा लाग्छ। न्याभ टुर्नामेन्टलाई केवल न्याभ एउटा संस्थाको इभेन्ट भनेर लिनुहुन्न, यसलाई समग्र नेपाली समुदायको सक्रियता र समृद्धिसंग जोडेर हेर्नुपर्छ। त्यसैले नेपाली समुदायको उल्लेख्य सहभागिताको खाँचो छ।

अष्ट्रेलिया आएका नेपाली युवाहरुको खेल सपनामा न्याभ टुर्नामेन्टको भूमिका कस्तो रहेको छ ?
न्याभ टुर्नामेन्ट यहाँ रहेका नेपाली खेलाडीहरुका लागि एकदमै राम्रो अवसर हो। खेल सिकाई मात्र नभएर टुर्नामेन्टमा भिक्टोरियाको स्थानीय क्रिकेट क्षेत्रका ठूला व्यक्तित्वहरु पनि आउने हुनाले खेलाडीका लागि अझ ठूलो अवसरको सम्भावना रहन्छ। काम र पढाइले गर्दा आफ्नो रुचि मार्न बाध्य नेपाली विद्यार्थीका लागि न्याभ टुर्नामेन्ट भनेको एउटा आशा पनि हो।

यसपालीको टुर्नामेन्टका लागि कति उत्साहित हुनुहुन्छ ?
एकदमै उत्साहित छु। यसका लागि मैले न्याभ क्रिकेट टुर्नामेन्टका संयोजक प्रेम राज उप्रेतीजीलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँले नयाँ-नयाँ अवधारणाहरु ल्याइरहनुभएको छ। त्यसमा खेलाडीका लागि प्रेरणादेखि लिएर हाम्रो व्यवसायीक प्रबर्द्धनका लागि सहयोग त छँदै छ, त्यससंगसंगै मैत्रीपूर्ण खेल अझ रोचक बन्नेछ भन्ने लागेको छ। र, अर्को मूख्य कुरा यसपटकको न्याभ टुर्नामेन्टले एएनएमसीलाई सहयोग गर्ने भन्ने कुराले थप उत्साहित छौं।

टुर्नामेन्टलाई अझै व्यापक र राम्रो बनाउनका लागि के गर्नुपर्ला ?
मैले अगाडी पनि भनिसकें, टुर्नामेन्टका खेलहरुमा दर्शकहरु एकदमै कम रहनुहुन्छ। खेलाडी अधिकांश विद्यार्थी छन्। उनीहरु आफ्नो काम र पढाइबाट समय मिलाएर, दु:ख गरेर मैदानसम्म पुगेका हुन्छन्। अनि उनीहरुलाई हौसलाको कमी भयो भने के हुन्छ ? हामी सबै मिलेर सहभागिता बढाउनुपर्छ। खेलाडीका लागि, टिमका लागि हरेक खेल उत्तिकै महत्त्वपूर्ण हुन्छ। उनीहरुलाई हौसलाको खाँचो हुन्छ। उनीहरुको खेल प्रदर्शन, खेल कला र खेलमा सक्रियता केवल खेलाडी, टिम र संस्थाको लागि मात्र होइन। उनीहरुले सिंगो नेपाली समुदायलाई खेल क्षेत्रमा अगाडी लैजान सक्छन्, हामीले गर्व गर्ने क्षण सिर्जना गर्न सक्छन् ।

अन्त्यमा, अष्ट्रेलियामा नेपाली व्यवसायीहरुका लागि कस्ता चुनौती र अवसर रहेका छन् ?
चुनौती र अवसर जुनसुकै ठाउँमा, जुनसुकै क्षेत्रमा पनि हुन्छ। यहाँ चाहिं ‘ग्रुपिजम’ छ। यो एक हिसाबले अवसर पनि बन्न सक्ला, किनकि एउटा समूह र त्यो समूहबाट प्रभावितले आफ्नो व्यवसायलाई मात्र रोज्ने भयो। तर यसले समुदायमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्छ। अर्को महत्त्वपूर्ण कुरा चाहिं, नेपाली समुदायका उपभोक्ताले सम्भव भएसम्म नेपाली व्यवसायलाई नै रोज्नुपर्छ। यसो गर्दा हामी ‘विन-विन’को अवस्थामा रहन्छौं। समुदायका कार्यक्रमदेखि सामाजिक काममा पनि हामी खुलेर सहयोग गर्न सक्छौं, साथै नेपाली व्यवसायको पनि प्रबर्द्धन हुन्छ।