अष्ट्रेलियाको भिक्टोरियामा हुने १७औं न्याभ क्रिकेट टुर्नामेन्टमा दश टिम सहभागी हुँदै

0
93

मेलबर्न। अष्ट्रेलियाको नेपाली समुदायमा क्रिकेटलाई माथि लैजान क्रियाशील नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभले) क्रिकेट टुर्नामेन्टको आयोजना गरेको छ। न्याभले आयोजना गरेको यो १७औं न्याभ क्रिकेट टुर्नामेन्ट हो।

न्याभले हरेक वार्षिकोत्सवमा क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै आएको छ। यसपाली संस्थाले आफ्नो रजत जयन्ति मनाइरहेकोले १७औं टुर्नामेन्ट अझ विशेष रहने संस्थाका उपाध्याक्ष तथा टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेतीले बताउनुभयो। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रतिस्पर्धामा उत्रिने तयारिमा रहेका टिमहरुलाई शुभकामना समेत दिनुभयो।

१७औं न्याभ टुर्नामेन्टमा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। जसमा समूह ‘ए’ मा फारवेस्ट हनटर्स, ग्लोबल इन्टरफेस, माभेन, नर्रे किंग्स र हिमालयन क्रिकेट क्लब रहेका छन् भने समूह ‘बी’ मा एक्स्पर्ट सगरमाथा, गुल्मी टाइगर्स, रोयल राइनोज र गोर्खाली एभरेस्ट लायन क्रिकेट क्लब रहनेभएका छन्।

हङ्ग्री आई एशियन फ्युजन एण्ड बारमा आयोजित पत्रकार सम्मेलनमा प्रतिस्पर्धामा रहने सबैका टिमका क्याप्टेन सहभागी भएका थिए। उनीहरुले १७ औं टुर्नामेन्टप्रति खुसी व्यक्त गर्दै प्लाटफर्म सिर्जना गरिदिएकोमा न्याभलाई विशेष धन्यवाद दिएका थिए।

पत्रकार सम्मेलनमा न्याभ टुर्नामेन्टको प्रायोजक संस्था ग्रेस इन्टरनेशनल मेलबर्नका डाइरेक्टर राम चन्द्र पौडेल, न्याभका अध्यक्ष राम गुरुङ, एएनएमसीका सचिव नारायण काफ्ले, एएनएमसी सदस्य अनन्त पौडेल अतिथिको रुपमा सहभागी हुनुभएको थियो। ग्रेस इन्टरनेशनलका डाइरेक्टर राम चन्द्र पौडेलले टुर्नामेन्टको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गर्दै न्याभको यो प्रयासको प्रशंसा गर्नुभएको थियो। उहाँले नेपाली समुदायको खेल क्षेत्रलाई अझ व्यापक बनाउँदै लैजानुपर्ने धारणा समेत व्यक्त गर्नुभयो। ग्रेस इन्टरनेशनल पछिल्ला वर्षहरुमा न्याभ टुर्नामेन्टको मूख्य प्रायोजक रहँदै आएको छ।

पत्रकार सम्मेलनका अर्का अतिथि अनन्त पौडेलले भिक्टोरियामा नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को आवश्यकता तथा महत्वका बारेमा प्रकाश पार्दै हाल भइरहेका पहलका बारेमा सबैलाई अवगत गराउनुभएको थियो। न्याभले यसपालीको टुर्नामेन्टबाट एनएनएमसीलाई सहयोग गर्ने घोषणा गरेको छ।

टुर्नामेन्टको सफलता र यसको उद्देश्य प्राप्तिका लागि न्याभका अध्यक्ष राम गुरुङले शुभकामना दिनुभएको थियो। उहाँले टुर्नामेन्ट सफल बनाउनका लागि लागिरहेको टिमलाई संस्थाको तर्फबाट विशेष धन्यवाद समेत दिनुभयो। पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेतीले सभापतिको आसन ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको संचालन न्याभका कोषाध्यक्ष यकिन्द्र तिमिल्सिनाले गर्नुभएको थियो।

न्याभ टुर्नामेन्ट आगामी ९ जनवरीबाट C H Sullivan Memorial Park, Reservoir हुनेछ।