“छोराछोरीलाई जिम्मेवार बनाउन चाहनेले एक पटक अष्ट्रेलिया पठाउनुस्”

0
188

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका सरला देवकोटासंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर भरपुर, नारायणगढ हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म अष्ट्रेलिया २००७ मा आएकी हु।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
अष्ट्रेलिया भिसाको लागि सबै प्रोसेसहरु ममीबाबाले गरिदिनु भएकोले खासै गाह्रो भएन।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
मलाई यसको बारेमा खासै ज्ञान भएन किनकी अहिले धेरै जसो स्टुडेन्ट भिसामा आउने गर्दछ। मैले पिआर पाएर बसेको धेरै भयो। त्यसकारण पढ्न आउँदा कलेज वा युनिभर्सिटी जे रोज्दा पनि राम्रो हुन्छ जस्तो लाग्छ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
म नेपालमा +२ लेभलको पढाई सकेर अष्ट्रेलिया आएकी हु।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
म अष्ट्रेलियामा लेखा पढ्नको लागि आएकी हु।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
अहिले पढाई सकेर काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
मेरो विचारमा अष्ट्रेलियाको पढाई ठिकै छ। पढ्न सक्नेको लागि राम्रो छ भने नसक्नेलाई अष्ट्रेलिया नराम्रो पनि लाग्न सक्छ। करियर निर्माणको लागि त आफैमा भर पर्ने कुरा हो। आफुले गर्न सके जहाँ पनि राम्रो हुन्छ। जुन कुरामा लागि परेको छ त्यो कुरामा आफुले कत्तिको दिमाग लगाएर काम गर्न सक्छ, त्यस कुराले पनि धेरै फरक पार्ने गर्दछ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मलाई पढाई बाहेक परिवारसंग भेटघाट भएर बस्न, संगीत सुन्न र मेकअप गर्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालमा आफुले सोचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अष्ट्रेलियामा आकाश पातालको फरक हुन्छ। नेपालमा रहुन्जेलसम्म अष्ट्रेलियामा गएर के /के गर्छु भनेर आएका हुन्छौ तर यहाँ आएर चाहेर पनि गर्न सक्ने स्तिथि हुँदैन। त्यसैले सोचे जस्तो कहाँ सजिलो हुन्छ र !

काम पाउन कत्तिको गाह्रो भयो ? सुरुमा कसरी काम पाउनुभएको थियो ?
मेरो त सबै परिवार नै यहाँ भएको कारणले गर्दा होला काम पाउन खासै गाह्रो भएन। सुरुमा मैले ग्राहक सेवा बाट सुरु गरेको हो।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के -के हुन् ?
अष्ट्रेलियामा आएर करियर बनाउन सजिलो हुन्छ। आफुले मेहनत गर्न सक्यो भने सजिलै पैसा कमाउन पनि सकिन्छ। यहाँको नराम्रो कुरा भनेको दू:ख पर्दा, विरामी पर्दा आफ्नो मान्छे हुदैनन् त्यसैले चाहिँ गाह्रो हुन्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
अष्ट्रेलियाको नेपाली समुदायसंग खासै नजिक छैन। मलाई मन पनि पर्दैन।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?के कुरा बढी सम्झना आउँछ ?
घरपरिवार देखि टाढा रहेपछि सम्झना त अवश्य आइहाल्छ। तर, आजभोलि इन्टरनेटको जमाना छ त्यहि भएर पनि कुरा भइरहेको हुन्छ त्यस्तो खासै नरमाइलो लाग्दैन।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
अष्ट्रेलियाको बसाईले मलाई आत्मानिर्भर बन्न र संघर्ष गर्न सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
हामीले नेपालमा बसेर सोचको जस्तो अष्ट्रेलिया छैन, यहाँ आएर धेरै दु:ख गर्नु पर्छ। काम सानो ठुलो भन्ने हुँदैन जस्तो अगाडी आइलाग्छ त्यस्तै गर्न पर्ने हुन्छ।केहि कुरा सिक्नको लागि आउदै हुनुहुन्छ भने हरेक कुरालाई मनमा लिएर गर्नु भन्न चाहन्छु। मैले गर्न सक्छु भन्ने हिम्मत लिएर आउनु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
छोरा छोरीलाई केहि सिकाउन खोज्नु भएको छ भने जिम्मेवारी लिनसक्ने बनाउन चाहनु हुन्छ भने एकचोटी अष्ट्रेलिया पठाउनु भन्न चाहन्छु। छोराछोरी आफु देखि टाढा छ भनेर नआतिनु, चिन्ता नगर्नु, जहाँ भएपनि संघर्ष गरेर अगाडी बढेका छन् भन्ने सोच्नु। घरतिरको धेरै टेन्सन नदिनु होला र २/३ बर्ष धेरै आस पनि नराखी दिनुहोला भन्न चाहन्छु।