“अष्ट्रेलिया आउँदा अरुको आश गरेर नआउनु”

0
170

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अस्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएका सनम पुनसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर बुटवल, मढीग्राम हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म अष्ट्रेलिया आएको ७ बर्ष भयो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
मलाई एकदम गाह्रो भएको थियो, मैले धेरै ठाउँमा सहयोग माग्नु परेको थियो। मेरो कागजप्रत्र बनाउन धेरै ठाउँमा जानु परेको थियो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
मलाई त कलेज पढ्न मन पर्छ किनकी हामी नेपालीले आफ्नो भविष्य साथै आफ्नो परिवार पनि हेर्नुपर्ने हुन्छ। कलेज सस्तो पनि हुन्छ पढ्ने मान्छेलाई हरेक ठाउँमा अवसर छ, महँगो युनिभर्सिटीमा पढाई राम्रो र सस्तोमा नराम्रो भन्ने हुदैन त्यसैले पनि मलाई कलेज मन पर्छ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
+२ सकेर आएकी हु।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
आइ टि पढ्नको लागि आएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
म अहिले पढाई सकेर काम मात्र गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
अष्ट्रेलियाको पढाई अष्ट्रेलियामा नै सेटल हुन खोज्नेको लागि धेरै राम्रो छ। यहाँको पढाई कलेज गएर घोटिने भन्ने हुदैन मेरो मतलब नेपालको जस्तो घोकन्ते बिध्या हुदैन। २/३ दिन कलेज जाने अरु समयमा आफैँ कसरि हुन्छ खोजेर भएनी पढ्नु पर्छ त्यस्तो गर्दा दिमाखमा राख्न सकिन्छ। पढाई अनुसारको काम पाइन्छ अनि काम अनुसारको तलब त्यसैले यहाँको पढाई धेरै राम्रो र करियर बनाउन।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मलाई सपिङ्ग गर्न, साथीहरुसंग घुम्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले नेपालमा हुँदा अष्ट्रेलिया यति सफा र सुन्दर शहर होला भनेर सोचेकै थिन। यहाँको नियम, यहाँको समुन्द्र, यहाँका मान्छेको मन यति सफा छ जो सुकैले पनि बुझ्न र मान्न सक्छ। नेपालमा जस्तो खुट्टा तान्ने प्रविधि यहाँको मान्छेको सोचमा छैन। नेपालीहरुलाई एकदम इज्जत दिन्छन यो मैले भोगेको कुरा पनि हो। यति धेरै मैले नेपाल हुदा सोचेकी थिन त्यसैले धेरै फरक पाए।

काम पाउन कत्तिको गाह्रो भयो ?सुरुमा कसरी काम पाउनुभएको थियो ?
मलाई काम पाउन गाह्रो त भयो तर खुसीको कुरा अष्ट्रेलियाको नागरिकले नै मलाई सहयोग गर्नु भएको थियो। मलाई होटलमा काम लगाईदिनु भएको थियो।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के -के हुन् ?
अष्ट्रेलियामा कसैको रोकटोक छैन आफ्नो मर्जिको मालिक भने जस्तै हो। नराम्रो भनेको खासै केहि छैन अहिले सम्म।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
मलाई मन पर्दैन किनकि मैले १ /२ समूह बनाएका नेपाली दिदीबहिनिहरु संग धेरै सहयोग मागे उहाँहरुले मलाई यतिकै झुलाएर छोड्नु भयो नेपालीले नेपालीलाई नै सहयोग गर्दैन् यहाँ त्यसैले राम्रो लाग्दैन।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
मेरो परिवारले मैले गर्दा धेरै दुख पनि पाउनु भयो । मैले आएको ६/७ महिना सम्म काम पाइन धेरै टेन्सन पनि भयो। हामी ऋण खोजेर आफ्नो भविष्य बनाउने सोचले आएका हुन्छौ म जस्ता धेरै हुनुहुन्छ नेपालीहरु बिन्ति छ सहयोग गरिदिनु आफ्नै छोरा छोरी सम्झेर भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?के कुरा बढी सम्झना आउँछ ?
आउछ नि सम्झना त विशेष गरि चाडपर्वहरुमा कामबाट घर आउदा एक्लै खान बनाएर खानुपर्दा धेरै याद आउछ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
मलाई नेपाली प्रति अन्य देशमा गएर विश्वास नगर्न नहुने रहेछ भन्ने सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
आफ्नो मान्छे छन् भनेर उनीहरुको भरमा नआउनु होला अष्ट्रेलियामा नेपालीले नेपालीलाई नै अगाडी बढ्न दिदैनन्। जे गर्छु आफैँ गर्छु भन्ने सोचले आउनु होला।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया पठाउदा राम्रोसंग बुझेर पठाउनु होला नेपालमा बसेर सोचेको जस्तो सजिलो छैन। आफ्नो छोरा छोरीले कत्तिको गर्न सक्छन् उनिहरुलाई सपोट गर्दै सल्लाह पनि दिनु होला भन्न चाहन्छु।